बजारमा चिनी अभाव भएपछि धादिङका मानिस चिनी किन्न काठमाण्डाै आएका छन् ।
नेपालीको मुख्य चाड दशैँ, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई काठमाण्डाैकाे कालीमाटीमा रहेकाे साल्ट ट्रेडिङ कर्पोरेशनमा आउनुभएको हो । नेपालीले धेरै मात्रामा चिनी प्रयोग गर्ने दशैँ, तिहार र छठकाे समयमा सरकारले दायित्व निभाउन नसकेको भट्टराईले बताउनुभयो । उहाँले मुख्य चाडपर्वको समयमा दुई किलो चिनी किन्न धादिङदेखि काठमाण्डाै आउनुपर्ने बाध्यता सरकारको लापर्बाहीकै कारण भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
भट्टराईले धादिङका पसलमा चिनी नपाएको र पाए पनि किलोको एक सय ६० रुपैयाँसम्म पर्ने गरेको बताउनुभयो । उहाँले जन्मेदेखि पहिलो पटक धादिङदेखि दुई किलाे चिनी किन्न काठमाण्डाै आउनुपरेको गुनासाे गर्नुभयाे ।
चिनी किन्न सहुलियत पसलमा आउनुभएकी सावित्रा उप्रेतीले दुई घण्टा लाइन लाग्नुपरेकाे बताउनुभयो । सरकारले सञ्चालन गरेको सहुलियत पसलभन्दा बाहिरका पसलमा चिनी नपाएको भन्दै दुई किलो लिन भए पनि लाइनमा बसेकाे उहाँले बताउनुभयो । हरेक वर्ष चाडबाडमा सास्ती बेहाेर्दै आए पनि सरकारकाे ध्यान नगएकाे उहाँले गुनासाे गर्नुभयाे ।
चिनी किन्नका लागि कीर्तिपुरबाट कालीमाटीकाे सहुलियत पसलमा आउनुभएकी पवित्रा थापाको पनि उस्तै गुनासो छ । उहाँले बजारमा चिनी नै नपाएकाले सहुलियत पसलमा चिनी किन्न आएको बताउनुभयो । उहाँले दुई किलो चिनी किन्न लामो लाइन बस्नुपर्दा दुःख लागेको बताउनुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई दुई केजीका दरले उपलब्ध गराउने बताउनुभयो । उहाँले सहुलियत पसलमा लाइनमा बस्ने उपभोक्तालाई खाली हात नपठाउने बताउनुभयो ।
निर्देशक झाले चिनी अभाव हुने विषयमा गएकाे जेठमा सरकारसँग आग्रह गरे पनि सरकारले तत्कालीन समयमा स्वीकृति नदिँदा अहिले समस्या आएको बताउनुभयो । उहाँले सरकारले समयमै स्वीकृति दिएको भए अहिले बजारमा अभाव हुँदैन थियाे भन्नुभयाे । चिनी खरिद प्रक्रिया अगाडि बढाए पनि चाडपर्वमा ल्याउन नसकिएको उहाँले बताउनुभयो ।
साल्ट ट्रेडिङ र खाद्य व्यापार तथा व्यवस्था कम्पनीले अहिले विभागले उपलब्ध गराएको ७० हजार किलो चिनी उपभोक्तालाई प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गरिरहेको छ ।