
हाम्रोआवाज न्युजडटकम- जापानको राजधानी टोक्योमा ३२औँ ओलिम्पिक्स एउटा भावपूर्ण समारोहकाबिच सुरु भएको घोषणा गरिएको छ।टोक्यो ओलिम्पिक रङ्गशालामा आयोजित समारोहमा जापानका सम्राट नारोहितोले ओलिम्पिक्सका खेलहरू सुरु भएको घोषणा गरेका हुन्। उनका हजुरबुवाले पनि सन १९६४ मा टोक्यो ओलिम्पिक्सको त्यसैगरि उद्घाटन गरेका थिए।
चारपटक टेनिस ग्र्यान्ड स्ल्याम जितेकी नाओमी ओसाकाले ओलिम्पिक मसाल बालेसँगै सबैभन्दा ठूलो खेल मेला औपचारिक रूपमा सुरु भएको छ। उक्त अवसरमा बोल्दै अन्तर्राष्ट्रिय ओलिम्पिक समितिका अध्यक्ष थोमस बाखले भने, "आज यो आशाको क्षण हो। हो, यो हामी सबैले कल्पना गरेभन्दा निकै भिन्न हो। तर पनि यो क्षणमा रमाउँ किनकि हामीहरू यहाँ एकसाथ भएका छौँ। २०५ राष्ट्रिय ओलिम्पिक्स कमिटिहरू र आईओसी शरणार्थी ओलिम्पिक्स टोली एउटै छातामुनि ओलिम्पिक ग्राममा बसिरहेका छौँ।"
कोभिड-१९ का पीडितहरूको सम्झनामा मौन धारण गरिएको थियो। मास्क लगाएका थोरै खेलाडीहरूले मार्चपास गरे। अनपेक्षित रूपमा तयारीको निम्ति एक वर्ष बढी समय पाएका ११ हजार ३०० खेलाडिहरू ओलिम्पिक्समा प्रतिस्पर्धा गर्दैछन्। ती खेलाडिहरू सहभागी खेल दुई हप्ताभन्दा बढीसमय सम्म चल्नेछ। त्यस्तै २४ अगस्टबाट अपाङ्गता भएका खेलाडीहरूको पाराओलिम्पिक्स सोही रङ्गशालामा सुरु हुनेछ।
नेपालका तर्फबाट खेलमा सहभागी हुन जापान पुगेका पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले उद्घाटन समारोहमा संयुक्त रूपमा नेपालको झन्डा बोक्नेछन्। नेपालबाट चार खेलका पाँच खेलाडीसहित २६ सदस्यीय टोलीले विश्वको सबैभन्दा ठूलो खेल उत्सवमा सहभागिता जनाइरहेका छन।ओलिम्पिक्समा ३३ खेल समावेश गरिएको छ, जसको लागि ३३९ इभेन्ट्संहरू विभिन्न ४२ खेल स्थलमा सञ्चालन हुनेछ।
नेपाली खेलाडीहरूको खेल उद्घाटनको भोलिपल्टबाट सुरु हुनेछ। शनिवार शुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन भने जुडोकी सोनिया भट्टले ४८ केजी मुनिको तौल समूहमा खेल्नेछिन्। भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुन्। त्यस्तै जुलाई २७ मा पौडीका एलेक्स शाहले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले सोही इभेन्ट्समा खेल्ने तालिका छ। जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन्।
नेपालबाट १२ जना खेलाडीहरूले वाइल्ड कार्डका लागि प्रयास गरेकोमा दुई जनाले मात्र त्यो पाउन सफल भएका थिए। कराँते, भारोत्तोलन, बक्सिङ, आर्चरी र तेक्वान्दोका खेलाडीहरूले वाइल्ड कार्ड पाउन सकेनन्। त्यस्तै पाराओलिम्पिक्समा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन्। उनीबाट पदकको आशा समेत गरिएको छ।