८ वर्षे सुताई पछि बाटोमा निस्कँदा
रामकुमार तिवारी

देदेले मलाई अब ह्विलचियरमा चढ्न सिकाउन थाल्नु भो । बेडबाट ह्विलचियरमा र ह्विल चियरबाट  बेडमा जानको लागि तालिम दिनु भो । मलाई डर लाग्थ्यो तर पनि म सफल भएँ हात टेकेर घिस्रीदै चढ्ने र उत्रने । यसरी म चियरमा चढेपछी देदेले मलाई एक दिन चियरमा बसाएर बाटोमा निकाल्नु भो । त्यतिखेर म धेरै खुशी भएँ । बाटोमा पुगेर मैले आफ्नो घरलाई  फर्केर हेरेँ । किनकी ४ वर्षको सुताइपछी यो नै पहिलो पटक थियो चौघेरा  नाघेको र बाहिरी दुनियाँमा निस्केको ।

बाहिरी दुनियाँबाट आफ्नो घर मज्जाले नियाल्न पाएको । हिजो मात्र कल्पना गर्थें कि आगनमा पुगेर  यो घर हेर्न पाए कस्तो हुन्थ्यो होला ?भनेर । त्यो चाहना आज पूरा भयो । त्यो बेला खुशी या दुखी के भएँ  ? थाहा भएन गहभरी आँसु जमिएर पोखिन थालेछ । त्यसरी बाहिर निस्कदा त मलाई एक खालको असहज महसुस भयो । कुनै नयाँ नौलो बिरानो ठाउँमा पुगेको अनुभव गरेँ । मलाई अप्ठेरो लाग्ने कोहिसङ्ग बोल्न मन नलाग्ने कोहि सङ्ग बोल्न मन नलाग्ने, छ्टपटी हुने अनुभूति भो मलाई त । अनि भिडबाट बेडमा हतार हतार आएँ । भित्र आएर लामो सास ताने ।कता कता आनन्दको महसुस गरेँ ।

त्यो अध्यारो कोठाको बेड्मा पनि त मेरो जिन्दगी थिएन । देदेले मलाई सधैं भन्नुहुन्थ्यो " जिन्दगी बाहिर छ  ।" मलाई पनि थाहा थियो , एकान्त र अँध्यारो कोठामा बस्ने आदत परेको थियो । त्यसैले गर्दा यस्तो भएको सायद मलाई । त्यसपछी मेरो सुत्ने काम अलि कम हुन थाल्यो । म व्हिलचियरमा चढ्ने उत्रिने प्रयासमा लागेँ । तर बाहिर जान गारो थियो । भुइँटाढे घर भएकोले म घर भित्रै चियरमा केही समय बसेर बिताउने गर्थेँ ।

तस्वीर चित्रकार कृष्ण मरसानी 

यता देदे पनि आफ्नो देश फर्किनु भो । तर इक्राहीमा फाउन्डेसनमा ३ जना सिस्टर मेरि, सिस्टर लैला, सिस्टर ग्लोरिया हुनुहुन्थ्यो ।। उहाँले मलाई हेरचाह गर्नुहुन्थ्यो । मलाई आवश्यक औषधि दिनुहुन्थ्यो । मलाई लाग्थ्यो मैले एउटा नयाँ परिवार पाँए  अनि नयाँ जीवन पाँए । मलाई जन्म दिने बुबा आमा,  मृत्युसैयामा छाडेर हिडेकी श्रीमति बिन्दु भन्दा पनि सिस्टरहरु देदे , लैला , मेरि र ग्लोरिया भावनात्मक रुपमा मेरो आफ्नो नजिकको परिवारको सदस्य  जस्तै लाग्न थालिसकेको थियो । जो मेरो भगवान सरह हो र नै आज म यो ठाउँमा छु । लेखक तथा हस्तकलाकार राम कुमार तिवारीको आत्म संस्मरण  "संघर्षका पाइलाहरु" बाट ।