सोलुखुम्बु : संघीय सांसद हेमकुमार राई (शुरवीर)ले जिल्लाको आठवटै स्थानीय तहमा व्यबस्थीत आइसोलेसन सेन्टर निर्माणको लागि आवश्यक बजेटको माग गर्नुभएको छ । आज नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडलसंगको भेटमा प्रत्येक स्थानीय तहलाई ४०/४० लाख बजेट तत्काल व्यवस्था गर्न सांसद राईले माग गर्नुभएको उहाँको निजि सचिवालयले जनाएको छ ।

यस्तै सोही भेटका क्रममा जिल्लाको बिकास निर्माणको अवस्थाको बारेमा अवगत गराउँदै आगामी वर्षको लागि आवश्यक भौतिक पुर्वधारलाई लक्षित गरि बजेट व्यवस्था गर्न माग गर्नुभएको छ । जिल्लाका नागरिकले बिकासको अनुभुति गर्नेगरि बजेट निर्माण गर्न सुझाव दिदै जिल्लाको महत्वपुर्ण योजनाको बारेमा जानकारी गराउँनुभएको नेकपा जिल्ला सदस्य भुपेन्द्र कटेलले जानकारी दिनुभयो ।

मंगलबार स्वास्थ्य मन्त्री हृदयस त्रिपाठीलाई भेटी सांसद राईले जिल्लामा कोरोना संक्रमणदर उच्च रहेकाले अक्सिजन प्लान्ट निर्माण तथा जिल्लामै पिसिआर परीक्षण लगायत आवश्यक औषधी उपकरण तत्काल उपलब्ध गराउन माग गर्नुभएको थियो ।

यो महामारीको बेला नागरिकको जीवन रक्षा गर्नु आफ्नो पहिलो कर्तव्य भएको सांसद राईको भनाई छ । महामारीमा राजनीति नगरिकन जीवन रक्षामा जुट्न समेत उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।