आन्तरिक मुल्यांकनबाट विद्यालय तहको नतिजा ल्याउने सोलुका स्थानीय तहको तयारी

सोलुखुम्बु – सोलुखुम्बुका ७ स्थानिय तहले आन्तरिक मुल्याङकनबाट बार्षिक परिक्षाको नतिजा प्रकाश गर्ने तयारी गरेका छन् ।

जिल्लाको सोताङ गाउँपालिका बाहेकका स्थानिय तहले आन्तरिक मुल्याङकनका आधारमा नतिजा प्रकाशनको तयारी थालेका हुन् । बार्षिक परीक्षाको तयारीमा रहेका स्थानीय तहले कोरोनाको दोस्रो भेरियन्टको संक्रमणका कारण परीक्षा स्थगीत गर्दै विद्यालय बन्द गरेका थिए ।

थुलुङ दुधकोशी गाउँपालिकाले विद्यार्थी मुल्यांकन निर्देशिका जारी गरेरै नतिजाको तयारी गरिरको छ । सोलुदुधकुण्ड नगरपालिकाले शैक्षिक सत्र २०७७ मा सञ्चालित त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्यांकनको आधारमा नतिजा तयार पारी सार्वजनिक गर्ने तयारी गरिएको शिक्षा अधिकृत गोपालराज भुजेलले बताए ।

त्यस्तै, माप्य दुधकोशी, नेचासल्यान, खुम्बु पासाङल्हामु, महाकुलुङ र लिखुपिके गाउँपालिकाले मापदण्ड तयार पारेर आन्तरिक मुल्याङकन गरि कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशनको तयारी गरेका हुन् ।

सोताङ गाउँपालिकाले भने कोरोना त्रासकै बिचमा दुई सिफ्टमा परिक्षा सञ्चालन गरेको थियो । सोही परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेको गाउँपालिकाले जनाएको छ ।