
अफगानिस्तानमा शुक्रबार महिलाहरूले सडकमा निस्किएर प्रदर्शन गरेका छन् । शुक्रबार राजधानीमा काबुलस्थित राष्ट्रपति भवनबाहिर महिलाहरूको समूहले प्रदर्शन गरेका हुन् ।
उनीहरुले सरकारमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने मागसहित प्रदर्शन गरेका हुन्। उनीहरूले बोकेका प्लेकार्डमा ‘एक साहसी सरकार जसमा महिला सहभागिता पनि होस्’, ‘महिला अधिकार, पुरुषसँग बराबर’लगायतका नारा लेखिएको थियो।
अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै महिलाको अवस्थाका बारेमा चिन्ता व्यत्त, गरिएको छ। तर शुक्रबार महिलाहरू आफै आफ्नो अधिकार सुनिश्चित हुनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका हुन्। संयुक्त राष्ट्रसंघको रिपोर्टमा तालिबान कालमा शोषण, महिलामाथि प्रतिबन्धलगायतका विषय चिन्ताको विषय बनेको बताइएको छ। यसभन्दा पहिले तालिबान शासनमा महिलालाई पूरा शरीर ढाक्ने बुर्का अनिवार्य र दस वर्षमाथिका बालिकालाई विद्यालय जान प्रतिबन्ध लगाइएको थियो।
पछिल्लो समय तालिबानी नेताहरूले महिलालाई कुनै प्रतिबन्ध नलगाइने बताउँदै आएका छन्। उनीहरूले इस्लामिक कानुन शरियाबमोजिम शासन चलाउने बताउँदै आएका छन्। तर महिलालाई कुन भूमिका दिने भन्नेबारेमा भने उनीहरूले केही स्पष्ट पारेका छैनन्।
तालिबानले छिट्टै नयाँ सरकार घोषणा गर्ने बताएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तालिबानका सह–संस्थापक मुल्ला अब्दुल गनी बरादरले नयाँ सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताइएको छ।