बाबुछिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ सुरु

स्वर्गीय बाबु छिरी शेर्पा ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सुरु भएको छ । बौद्धस्थित क्रिम्पान्जी एड्भेन्चर हबमा पर्वतीय खेलकुद सङ्घ र सगरमाथा आरोही सङ्घले संयुक्त रूपमा आयोजना गरेको उक्त प्रतियोगितामा २६ पुरुष  र  १५ जना महिलाको सहभागिता छ ।  

प्रतियोगिताको उद्घाटन गर्दै सोलुदूधकुण्ड नगरपालिका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले प्रतियोगिताले स्वास्थ्यको क्षेत्रमा मात्र नभएर भौतिक विकासको लागि पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“पर्यटन प्रवद्र्धनमा यस किसिमको कार्यक्रमको महत्वपूर्ण योगदान रहन्छ ।  आगामी दिनमा यस्ता खालका प्रतियोगिताले निरन्तरता पाओस् ।  त्यसका लागि स्थानीय निकाय र सङ्घीय सरकारको तर्फबाट पनि आवश्यक सहयोग र प्रोत्साहन गरिनुपर्छ ।”  

पर्वतीय खेलकुद सङ्घका अध्यक्ष ङवाङ नीमा शेर्पाले प्रतियोगिताले साहसिक पर्वतीय खेलकुदको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले विश्वकीर्तिमानी स्व बाबु छिरी शेर्पाको योगदानलाई स्मरणीय बनाउन यस्ता प्रतियोगिताले सहयोग पुग्ने भन्दै साहसिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगीतालाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक सङ्घले प्राविधिक सहयोग (रुट सेटिङ, जजिङ, सुरक्षा, र बेले सर्भिस) प्रदान गरेको छ ।   उक्त प्रतियोगिता पुरुष र महिलाहरुबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछभने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद रु ५० हजार, ३० हजार र १५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य निर्णायक छिरिङ जाङबु शेर्पा, निर्णायक ज्याम्चाङ भोटे, निर्णायक पिम्बा तेन्जिङ शेर्पा रहनुभएको छ ।  

प्रख्यात आरोही स्व बाबु छिरी शेर्पाले १०आँैं पटक सगरमाथा शिखर (चार पटक चीन तर्फबाटसहित) आरोहण गर्नुभएको थियो । उहाँले वसन्त ऋतृमा अक्सिजन बिना सगरमाथा शिखरमा २१ घण्टा भन्दाबढी समय बिताएको र १६ घण्टा ५६ मिनेटमा दक्षिण तर्फबाट सगरमाथा आरोहरण गरी सगरमाथामा दुई विश्व कीर्तिमान राख्न सफल हुनुभएको थियो । सन् २००१ अप्रिल २९ तारिखका दिन सगरमाथा ११औँ पटक आरोहणका क्रममा उहाँको निधन भएको थियो ।