
लोक गायक वैकुण्ठ महत गुल्मीमा जन्मेका हुन् । सामान्य परिवारमा जन्मेका उनले २०५९ साल देखि रेडियो यात्रा शुरु गरे । करिब ८ बर्षको सञ्चारकर्मपछि छाडेर गीतसंगीत तर्फ लागे । तर वैकुण्ठ रेडियोलाई माया नमारेको बताउछन् । उनी भन्छन्, ‘रेडियो छोडेको छैन्, रेडियोको चिन्तन छोडेको छैन् । रेडियोलाई गर्ने रेस्पेक्ट गर्न छोडेको छैन् । अहिले पनि म रेडियो संगै छु नी ।’
हिमाल एफ एमको प्रस्तुती ‘दि अर्गानिक शो’मा आफ्ना अनुभव शेयर गर्दै गायक महतले रेडियोमै प्रत्यक्ष रुपमा उपस्थित भएर कार्यक्रम संचालन गर्न नसकेपछि गीतसंगीतको माध्यमबाट जहिले पनि आम सञ्चारको माध्यम संगै भएको बताए ।
उनको पहिलो ‘घोका दिन सक्त मनाही छ’हो । २०६० सालमा रेकर्ड गरिएको यो गीतलाई २०६१ सालमा बजारमा पठाइएको थियो । उनी भन्छन्, ‘यो संकट र अप्ठ्यारो परिस्थितीमा सहयोग गर्नुहुने श्रीकृष्ण भट्टराई, राम प्रसाद खनाल, आलोक श्रीलाई सम्झन चाहन्छुु ।’
२०५७ सालमा अध्ययनका लागि रुपन्देही झरेका वैकुण्ठ त्यतिबेला नै रेडियोमा जोडिए । स्थानीय टेलिभिजनमा काम गरे । संगै लोक गीत संगीतको यात्रा पनि शुरु गरे । सञ्चारकर्मी बनेपछि संगीत यात्रा शुरु गरेका महत भन्छन्, ‘सानै देखि गीत गाइन्थ्यो तर गाउन पर्नी ठाउँमा गाउन डराईन्थ्यो । समय र तत्कालिन वातावरणको प्रभाव थियो ।’
पढाई राम्रै थिए । संगै गीत संगीतमा रुची राख्थे । आदरसम्मान मेरो संस्कार थियो । स्कुले जीवन निकै रमाइलो थियो । भविष्यको बारेमा चिन्ता हुन्थेन । ‘खुला आकाशमा उडेका चरा जस्तो, स्वतन्त्र थिए ।’उनले सम्झे ।
७ बर्ष रुपन्देहीमै दोहोरी साँझमा काम गरेका उनले साँझलाई दोहोरी सिकाईको विद्यालय मान्छन् । भाईरल कन्टेन्टको विषयमा सकारात्मक धारणा व्यक्त गर्छन्, वैकुण्ठ । उनी भन्छन्, ‘कुनै विशिष्ट क्षमता विना त कोही पनि भाइरस बन्दैन् तर त्यो क्षमतालाई दिगो बनाउनका लागि जरुर सोच्नुपर्छ । क्षणभरको प्रयोग र हाईहाईसंगै दिगोपना पनि सोच्न सकियो भने भाइरल प्रतिको समर्थन बढ्दै जान्छ ।’
‘मागे जति बरदान पाको भा’, ‘रेडियोमा गीत सुनेर’ सही बेला चलेको थियो । लोक गायक वैकुण्ठ निरन्तर लोक संगीतमा लागि रहे । बिचको समयमा ‘विरहले छुने बेलैमा’, ‘नपढेरै हो’, ‘मान्छेको जिन्दगानी’ ल्याए । ती गीत पनि दर्शक स्रोताले मन पराए । पछिल्लो समय वैकुण्ठको सृजना र गायनमा तयार भएको पुर्वेली पनको दोहोरी गीत ‘२ कुराले ठग्यो’बोलको गीत दर्शक स्रोताले मन पराए ।
पछिल्लो समय राजनितिक नेतृत्व आलोचना हुने क्रम बढिरहेका बेला चेतनामूलक गीत ‘कर्तव्य र अधिकार’बजारमा ल्याएका छन् । नागरिक चेतना अभिबृद्धिको आशा राखेर महतले गीत सृजे । उनी भन्छन्, ‘अरुले गरेन मात्र भन्ने हाम्रो प्रवृत्तिमा सुधार आवश्यक छ । अधिकारका लागि आवाज उठाउदै गर्दा आफ्नो कर्तव्यलाई ख्याल राख्नुपर्ने मेरो बुझाई छ । यत्ति कुरा बुझ्न सके समाज धेरै सु–सस्कृत बन्नेछ ।’
राम्रो काम गरेको नेतालाई सम्मान व्यक्त गर्ने बताउने गायक महत एमाले पार्टीसंग बढि नजिक छन् । गएको निर्वाचनमा उनले थुप्रै एमालेका लागि गीत गाएका थिए । पछिल्लो पटक नेकपा विभाजन तर्फ लम्किदा ‘एकता तोडेर नजाऊ साथी हो’बोलको गीत ल्याएका थिए ।
उनी भन्छन्, ‘कलाकार र नेताहरु दुवै सामाजिक हुनुपर्छ । समाजलाई बुझेर नेतृत्व गर्न र कलाकारिता गर्न सक्ने नेता र कलाकार (दुवै)नेपाली समाजलाई खाँचो छ ।’
धेरैलाई थाहा छैन् । उनी कानुन व्यवसायी हुन् । अधिवक्ताको रुपमा कार्यरत छन् । २०७१ सालदेखि लाइसेन्स लिएर क्रियाशिल छन् । ‘म संगीत र कानुन व्यवसायीलाई संगै अघि बढाउदैछु । कानुनको विद्यार्थी हूँ ।’
करिब ४५ मिनेट गफिएका लोक गायक महत भन्छन्, ‘म अघि बढ्दैमा आफू उक्लेका सिढी भत्कियोस् भन्ने चाहदिन् । कहिल्यै भत्काउन लाग्दिन । किनकी, भोली त्यही सिँढीबाट ओर्लनु पर्ने वातावरण पनि बन्न सक्छ ।’