
यात्रा संस्मरण- ✍ बिहानको ५:३0 बजे नै यात्रामा निस्किसकेको छु। झण्डै एक घण्टाको पैदल यात्रा पश्चात् म रातमाटाबाट शिरिशे बजार पुग्छु। बस खोज्छ्न् आँखाहरुले। तर बजारमा बसलाई स्पर्श गर्न सक्दैनन्,आँखाहरु। बिहानी समय भएकाले होटलहरुमा,झुन्ड-झुन्डमा मान्छेहरु चियाको चुस्कीसँगै गफिरहेका दृश्य मलाई नौला लाग्दैनन्। यिनै चिया पसल त हुन्,साथीभाई भेटघाट हुने ठाउँ। भलाकुसारी गर्ने ठाउँ। राजनीति देखि व्यक्तिगत उन्नति अवनतिका चर्चा-परिचर्चा हुने ठाउँ। अगाडि बढ्दै गर्दा देख्छु- एउटा होटलमा तिन-चार जना चियाको चुस्किसँगै गफमा व्यस्त छन्। होटल साहुले मलाई देख्छ्न्। (उठेकोले होटल साहु होलान् भन्ने अड्कल काटेको हुँ) मैले झोला बोकेको देखेर होला सायद- 'काठमन्डु जानेलाई नि आजको बन्दले मार पर्ने भो।'- होटल साहुले भनेको सुन्छु। कस्तो बन्द ? कसले गरेका बन्द ? केका लागि बन्द ? विल्कुलै अनभिज्ञ छु। सोच्दै अझ अगाडि बढ्छु। बजारको प्रवेशसँगै बन्द भनेको सुनेको मैँले,मुख्य बजारमा पुगेपछि थाहा पाउँछु, विप्लवले गरेको रहेछ बन्द। किन गरेका बन्द ? के मागका लागि बन्द ? चासो लिने कुनै जाँगर चल्दैन।
यो देशमा बन्दका लागि विशेष कारण चाहिँदैन। जसले पनि जुनसुकै बेला पनि बन्द गर्न सक्छन्। सानो-सानो माग र आफ्नो स्वार्थ पुर्तिका लागि। गाडीले कुखुरा किचे नि बन्द। स्वास्नीले लोग्ने कुटे नि बन्द। साना-साना राजनीतिक माग पुरा गराउँन पनि बन्द। बन्दैबन्दले आर्थिक विकास मन्द भएको मेरो देशमा,बन्दका लागि खास कारण चाहिँन्न।
शरीरमा निकोटिनको कमी भएर होला सायद शरीरले चियाको माग गर्यो। मुख्य बजारको एउटा होटलमा पसेर हट लेमनको अर्डर गर्छु। अर्डर गरेको केही मिनेट पश्चात् नै हट लेमन मेरो टेवलमा आइपुग्छ। उठाएर ओठले स्पर्श गर्छु र सोच्न थाल्छु- 'के गरुँ अब, फर्किउँ कि पैदल यात्रा गरुँ ?' मसँग भएका यी दुई विकल्प। अँ, साँच्ची एक मनले त आजको दिन बजारमै बिताईदिउँ जस्तो लागेको पनि हो। तर के गरेर ? प्रश्नबाचक चिन्ह म आफैँलाई प्रश्न गर्छ। चित्तबुझ्दो उत्तर भेट्टाउँदिन। बिना काम बजारमा रल्लिन मन लाग्दैन।
मनले भन्छ- जिन्दगी एक यात्रा हो। हाँसो र खुशीको यात्रा। सुख र दु:खको यात्रा। उकाली र ओरालीको यात्रा। यात्रै-यात्राको मात्रा मिलेको जिन्दगीमा यात्रा गर्न किन डराउँछ्स्। गन्तव्य तोकेर निस्केको मान्छेले गन्तव्यमा पुग्नै पर्छ। सानो बाधा,अड्चन र व्यवधान आउँदैमा डराएर भाग्नु कायरता हो। जुन कायरहरुले मात्रै गर्छ्न्। 'तँ कायर होस् या बहादुर ?'- मनले मनसँग प्रश्न गर्छ। मनले गरेको यो प्रश्नमा धेरै बेर बकुल्ला ध्यान गरेपछि निर्णय गर्छु,पैदल यात्रा।
हिड्न दु:ख भए पनि मनमा कता-कता लोभ पनि नजागेको होईन,पैदल यात्राको। जहाँ आँखाको क्यामेराले प्राकृति दृश्यहरु कैद गर्न सकिन्छ,मनको क्यानभासमा। त्यहाँको संस्कार,संस्कृति,रीतिरिवाज,चालचलन र भेषभुषा देख्न सकिन्छ,प्रत्यक्ष। यात्रैका क्रममा उकाली,ओराली र देउरालीमा भेट हुँदा मीठो मुस्कान र मीठो आत्मीयता साट्न कहाँ पाउँनु,बसको यात्रामा।
मनमनै संकल्प गरिसकेको छु,पैदल यात्रा। चियाको पैसा तिरेर झोला टिपेर अगाडि बढ्छु। मुख्य बजारबाट पाँछ-सात मिनेट जति हिँडेपछि सोच्छु- 'बाटामा होटल छैनन्,खाजा चाहिँ खाएर अगाडि बढ्नुपर्छ।' होटलमा पस्छु। खाजा सोध्छु- चिकेन म:म: र चाउमीन। म:म: रोज्छु। अघिल्लो दिन पनि बेलुकी खाना खाएको हुन्न।(गोरुको मासुको लसपस भएकोले) चाउचाउ खाएरै रात काटेको हुन्छु। म:म: खाँदै गर्दा होटल साहुलाई सोध्छु- शिरिशेबाट धोबी निस्किने सटकट बाटो। मैले पुग्नुपर्ने गन्तव्य शिरिशे-गेलु(अम्बास) भए पनि,मलाई पहिला धोबीसम्म पुग्नु छ। त्यहाँ पुगेपछि उताको बाटो सोध्छु भन्ने मनसाय बनाएको छु। मेरै उमेरको होटल साहुले सबै बताईदिन्छ्न्,झर्को नमानी। थोरै राहतको उच्छ्बास तान्छु। पैसा तिर्छु र साहुजीलाई धन्यवाद भनेर अगाडि बढ्छु। अगाडि बढ्दै गर्दा मनले भन्छ- पानी र केही खाजा बोक। मनको निर्देशनलाई शिरोपर गर्दै बजार छेउकै पसलबाट एक बोतल पानी र दुई पोका चाउचाउ लिन्छु। पानी र चाउचाउ झोलामा कोचेर शिरिशेबाट उकालो लाग्छु।
थाहा छैन होटल साहुले भनेझैँ सटकट बाटो पहिल्याउँन सक्छु या सक्दिन। तर मनमा हिम्मत छ,जसरी नि यो यात्रा गर्छु-गर्छु भन्ने।सायद यहि हिम्मत र साहसले मान्छेलाई केही हदसम्म अगाडि बढाउँछ कि ? बजारबाट थोरै माथी आएपछि गोजिबाट एअरफोन झिक्छु र कानमा घुसार्छु। झोलाको बोतल झिकेर हातमा बोक्छु। केही समयको उकालो चढाईमै पसिनाले निथ्रुक्क भिजिसकेको छु। रुमालले पसिना पुछ्दै,पानीको घुट्की लिँदै,दायाँबायाँको परिवेश नियाल्दै निरन्तर उकालो चढिरहेको छु। मोबाईलमा समय हेर्छु। आठ बज्नै लागेको छ। ७:३२ मा उकालो चढ्न सुरु गरेको म, झन्डै आठ बज्नै लाग्दा माथी पोकली डाँडाको रोडमा पुग्छु। मनमनै हिसाब लगाउँछु,आधा घन्टा। पन्ध्र-बीस मिनेट जति रोडैरोड अगाडि बढ्छु।
होटल साहुले रोड छोडेर माख्लो पट्टीको घोरेटो बाटो लाग्नु भनेभन्दा थोरै वर(पछि थाहा पाउँछु,घोरेटो बाटो त्यहाँबाट रहेछ भन्ने) डिलमा एकजना महिला खोलातिर फर्केर बसेको वरैबाट देख्छु। छेउमा पुगेपछी कानबाट एअरफोन हटाउँदै सोध्छु- 'यताबाट माथि धोबी डाँडोमा पुग्ने सटकट बाटो कहाँबाट पर्छ होला ? था'छ होला हजुरलाई ? ' बसिरहनु भएकी ती महिला कुर्था मिलाउँदै उठ्छिन् र देख्दा खाली जस्तै देखिने,भुँईमा आराम गरिरहेको आकाशे रंङ्गको झोला उठाउँछिन्। "बाटो त ऊ त्यहिँबाट हो।"- अन्कनाउँदै बाटो भएतिर ईशारा गर्छिन्। ' हजुर काँ सम्म हो र ?'- म फेरि अर्को प्रश्न गर्छु। "म नि जान त मास्तिरै जानुपर्ने हो।"- यति भनी सक्दै गर्दा बिस्तारै पाईला पनि अगाडि बढाउँछिन्। बच्चोले माहुलाई पछ्याएझैँ म तिनै पाईलाहरुलाई पछ्याउँछु। उनी रोकिँदै हिड्दै गर्छिन्। म के गरुँ के गरुँको दोधारमा पर्छु। उनी रोकिदैँ हिड्दै गर्नाको कारण पछि थाहा पाउँछु,देवर पर्नेले देवर पर्नेलाई बाईक लिएर पठाईदिन्छु भनेको रहेछ। बाईक लिएर आउँनेवाला चाहिँ जड्याहा खालको भएकोले,आउँने हो वा होईन टुङ्गो रैनछ। तर दिदीलाई जसरी नि पुग्नुपर्ने रहेछ मन्थली- मुद्दाको तारेख खेप्न।
मैले उहाँलाई दिदी सम्बोधन गरेको छु भने उहाँले मलाई भाइ। यतिखेरसम्म हामी मेनरोड छोडेर घोरेटो बाटो लागि सकेका छौँ। तल रोडमै हुँदा भनेको हुँ- 'दिदी बाईक आउँदै भए बस्नुस्न त,जान सहज हुन्छ,तपाईँलाई ? कहिले पुग्नुहुन्छ त हिँडेर मन्थली ?' " खोइ भाई,जड्याहाको के भर।बसुँला-बसुँला आएन भने ? पाँच बजेसम्म भएपनी पुग्नैपर्छ, मन्थली त ?"- दिदी भन्नुहुन्छ। 'आज बन्द भो,आजको तारेख भोलिलाई सार्दिनु,आज आउँन नसक्ने भए भन्नुभएको भए हुन्थ्यो नि त फोन गरेर ?'- म बाठो भई टोपलेर उपाय सुझाउँछु। "भनेको नि भाई नमिल्ने रे,जसरी नि आजै पुग्नुपर्छ रे,भरे पाँच बजेसम्म भएपनी ?"- पीडा मिश्रति स्वरमा दिदी भन्नुहुन्छ।
ओहो ! न्याय प्रशासन तेरो नियम पनि कति अजिवको छ है- तँलै चाहिस् भने,आजै गर्नुपर्ने काम,आजै हुनुपर्ने काम महिनौँ पछि धकेल्दिन सक्छ्स्। तर परिस्थितिबस आजको काम भोलि गर्छु,भोलिलाई सार्दे भन्दा पनि हुन्न भन्छस्। आजै गर्नुपर्छ भन्छस्। वाह ! तेरो मगज न्यायप्रशासन। वाह ! तेरो नियम न्यायप्रशासन।
मलाई त अभिभावक भेटेझैँ भयो। अन्जान ठाउँमा,अन्जान गोरेटोमा भेटेको अभिभावक। जसले सहि गोरेटोमा पाईला चाल्न सिकाउँनुभयो। दिदी निकै खुल्ला हृदयकी हुनुहुँदो रहेछ। हृदयजस्तै मन पनि विशाल। खुल्ला हृदय र विशाल मन यसकारण कि- भेटेको पन्ध्र-बीस मिनेटमै आफ्नो सिङ्गो जीवन पढाउँदैनन्,पढ्न दिँदैनन्,कसैले। एक अपरिचितलाईव्यक्तिलाई। एक अन्जान व्यक्तिलाई। यहाँ वर्षौँवर्ष संगत गरेकाहरुले त अविश्वास गर्छ्न्। तर खोइ ! दिदीले कसरी विश्वास गरिन् र बताईन्,आफ्नो सिङ्गो जीवन कहानी। यहाँ आफ्ना कुराहरु सुनाउँने मान्छे त धेरै भेटिन्छ्न्,तर कुरा सुनिदिने मान्छे धेरै कम भेटिन्छ्न्। दिदी पनि सायद आफ्नो कुरा सुन्ने मान्छे नभेटिँदा,सुनाउँन नपाउँदा थुनिएर बसेकी थिईन्। सुन्ने मान्छे भेटिँदा बगिन्,धाराप्रवाह। हामी कुरा गर्दै अगाडि बढिरह्यौँ।
कुराकानीकै क्रममा थाहा भयो- सोह्र वर्षको कलिलो उमेरमै मन परेर मागी विवाह भएको रहेछ। दुई सन्तानकी आमा,एउटी ११ वर्षकी र अर्की ८ वर्षकी छोरी। बुढोले दोस्रो बिहे गरेर चितवन बस्न थालेको पनि थुप्रै वर्ष भएछ। जसले जीवनभर साथ दिन्छु भन्यो। अग्निलाई साक्षी राखेर कसम खायो। उसैले बीच बाटोमै अलपत्र पारिदिँदा उनको मनमा के बित्दो हो ? हामी त केवल अनुमान मात्रै गर्न सक्छौँ। यथार्थ त कति डर लाग्दो र कति भयानक हुन्छ, त्यो त केवल भोग्नेलाई मात्र थाहा हुन्छ। जे होस् जीवन हो,जे आउँछ भोग्नुपर्छ,भोग्नुभएछ। पीडामाथी पीडाका पहाड खप्टिँदै। केही राम्रो भईहाल्छ कि ? न केही माया पाईहाल्छु कि, भन्दै झन्डै ७-८ वर्ष कुर्नु भएछ। तर अहँ ! राम्रो हुनुको सट्टा झन् झन् नराम्रो। अनेक थरिका लान्छना। अनेक थरिका यातना। सहन नसकेपछी मुद्दा हाल्नुभएछ। मुद्दा त जितिसक्नु भयो रे। मुद्दा जितेपछी पनि तारेख मनमा प्रश्न उब्जिन्छ ?
महत थरकी दिदी भन्नुहुन्छ- "कहिलेकाहीँ त मरुझैँ लाग्छ भाई ?" भित्र कतै मन निचोरिन्छ मेरो,दिदीको त्यो वाक्यले। सोच्न थाल्छु- 'आवेशमा आएर कतै दिदीले त्यसै गरिन् भने,उनको त मुक्ती होला। तर ति फूलजस्ता साना नानीहरुको भविष्य के होला ? कसले लालन-पालन गर्देला? कसले जीवन बुझाईदेला ? कसले समय पढाईदेला ?' एकसाथ थुप्रै प्रश्नहरुको हुलले मेरो मस्तिष्कमा आक्रमण गर्छन्। सम्झाउँन सजिलो छ। सम्झिन गाह्रो। थाहा छ र पनि सम्झाउँने मनसायले भन्छु- 'दिदी मर्नी त कायरहरुले हो। हजुर त हिम्मतिली हुनुहुन्छ। साहसी हुनुहुन्छ। आँटिली हुनुहुन्छ। दु:ख र पीडा नभएको मान्छे त को होला र यो संसारमा ? हुनसक्छ- मात्रामा धेरै र थोरै। तर छन त छन्, हरेकका आ-आफ्नै कथा र बेथा। आ-आफ्नै दु:ख र पीडा। तपाईं बाँच्नुपर्छं,आफ्नो लागि। तपाईं बाँच्नुपर्छ,छोरीहरूका लागि। बाँचे पो सबै कुरा देख्न पाईन्छ,बाँचे पो सबै कुरा भोग्न पाईन्छ, हैन र दिदी ?- म प्रश्न गर्छु। "हो नि है भाई,मरेसी तसक्किगोनी।"- दिदी भन्नुहुन्छ। दिदीको कुराले मनको कतै कुनामा आशाको सानो टुक्रा देखा पर्छ। खुशी हुन्छु।
वारी गाउँ छैन। घरहरु छैनन्। मानव बस्ती छैन। केवल जंगल छ। त्यही जंगलको छेउमा भिर छ। जंगल र भिर छुँदै तर्पिउँ-तर्पिउँ परेको एउटा बाटो छ। त्यही बाटो भएर बगिरहेका छौँ, हामी दुई। भिरकै किनारामा एउटा खोलो छ। खोलोमा पानी छ,छैन देखिँदैन। हिउँदमा छु कि छैन जस्तो गरि शान्त रहने ती खोला-खोल्सिहरु बर्खामा रौद्र रुप देखाउँछ्न्। गाउँबस्तिको बिचोबिच अहम् र घमण्ड बोकेर दौडिन्छ्न्। जे होस् खोलापारी एउटा गाउँ देखिन्छ। गाउँलाई छुँदै कच्ची सडक नागबेली भएर बगेको छ। त्यही गाउँ रहेछ,दिदीको माईती गाउँ। जहाँ गुजारिन् होला बाल वयका स्वर्णिम दिनहरु। खाइन् होला,टिपेर ऐँसेलु। घाँघरभरी बटुलिन् होला-धुर्सुले,असुरो र जाईजुईका फूलहरु। बनाईन् होला टालाटुलीको बेहुला र बेहुली। औधी माया गरे होलान् आपसमा र टालाटुलीकै सहि जन्माए होलान् छोराछोरी। कति खुशी थिए होलान्,ती दिनहरु। कति सुखी थिए होलान्,ती दिनहरु।
समय पनि कति कठोर। समय पनि कति निष्ठुर। हिजो त्यहाँबाट जुरुक्क उठाएर आज यहाँ ल्याएर थपक्क छोडिदिएको छ। भोलि कहाँ पुर्याउँने हो। भोलि कहाँ लगेर छोडिदिने हो। अनिश्चित छ। अन्योल छ। अनिश्चितता र अन्योलताका बाबजुद पनि कताकती पल्याक्कपुलुक्क देखिँने आशाका जुनकिरी पछ्याउँनु छ र लाग्नु छ,भविष्य उजिल्याउँने भगीरथ प्रयासमा।
आमाले संसार छोड्नु भएको पनि दस वर्ष भैसकेछ। बुबा पनि प्यारा लाईसिस भएर एक महिना अघि बित्नुभएछ। अहो ! भगवान् तँ पनि कति निष्ठुर छस् है ? घाउमाथी घाउ। पीडामाथी पीडा। लोप्पा खुवाउँन मन लाग्छ,भगवान छन्,भगवानले हेर्छ्न् भन्नेहरुलाई। प्रश्न गर्न मन लाग्छ- खै ? कहाँ हेरे तिमेरुको भगवानले ? कहाँ छ्न्,तिमेरुको भगवान् ? न आमाको काख । न बुबाको आँट। न जीवन साथिको साथ। रेल स्टेसनझैँ एकपछी अर्को गर्दै छुट्दै गएका जीवनका स्टेसनहरु।
जड्याहा नै भए पनि बाईक लिएर आएछ। फोनमा जानकारी दिन्छ,पोखरा बस्ने देवरले। "माथी धोबी डाँडा गएर बस्नु भन्दिनु।" - दिदी भन्नुहुन्छ पोखरा बस्ने देवरलाई। हामी रोड छोडेर धेरै माथी आईसकेका थियौँ। त्यो भन्नुभन्दा अर्को विकल्प पनि त थिएन,दिदीसँग। तलै बसेको भए अलि सहज त हुन्थ्यो,दिदीलाई। मानसिक तनाव,भोको पेट र उकालो बाटो मलाई कता-कता चस्स दुख्छ। बाटो सोधेर गल्ती पो गरेछु कि जस्तो पनि लाग्छ। तर मलाई पनि के थाहा र, सुन्दर गाता भएको किताबको भित्री पन्नाहरु यति धेरै दु:ख,पीडा र वेदनाका अक्षरहरुले भरिएका छ्न् भन्ने।
घरबाट बिहानै खाली पेट हिँडेको जानकारी पाउँछु,कुराकानिकै क्रममा दिदीबाट। दिदीलाई चाउचाउ खान आग्रह गर्छु। चाउचाउ खासै मन नपर्ने बताउँनुहुन्छ। झन् काँचो त मनै नपर्ने रहेछ। अरु खानेकुरा नबोकेर चाउचाउ नै बोकेकोमा अलि-अलि आफैँसँग रिस पनि उठ्छ। यो क्रिया-प्रतिक्रिया भैरहेछ,मभित्र। दिदी हिँडिरहनु भएको छ। म पनि हिँडिरहेको छु। बोतलको पानी घुट्क्याउँदै। 'दिदी पानी खानुहुन्छ त ?' भन्न सक्दिन। कारण पहिले नै जुठो हालेर पिईसकेको छु।
अघिसम्म हामी खोलो वारि थियौँ,अब हामी खोलो पारी पुगिसकेका छौँ। यात्रा निरन्तर जारी छ। कहिले जंगलैजंगल। कहिले कोदोबारी नै कोदो बारी। "यता त जुका नि लाग्छ भाई ?"- खुट्टामा टोक्दै गरेको जुको झार्दै दिदी भन्नुहुन्छ। जुको झार्दै गर्दा देख्छु,दिदीका फुटेका कुर्कुचा। फुटेका कुर्कुचा श्रमका निशानी हुन्। फुटेका कुर्कुचा मेहनतका निशानी हुन्। जो कडा श्रम र कडा मेहनत गर्छ,उसैका फुट्ने हुन्,हात र खुट्टा। उसैका चिरिने हुन्,हत्केला र कुर्कुचा। 'उहाँ मेहनती महिला हो।' फुटेका कुर्कुचाले भनेझैँ लाग्यो। दिदीले चप्पल लगाउँनु भएकोले जुकाले टोक्न भ्यायो। मैले त जुत्ता लगाएको छु, नटोक्ला,सोच्दै थिँए। दुवै खुट्टाको गोली गाँठा हल्का दुखेपछी,यसो हेर्दा पो जुका। सल्लाह गरेर टोकेजस्तो। फरक खुट्टा,एकै ठाउँ। सुरुमा टोक्दा थाहा नहुने। टोकेर जब अघाउँछ,तब मात्र टोकेको थाहा हुने। अचम्मको जीव हो,जुको। हातले तानेर झार्छु। रगत आउँछ। हल्का दुख्छ पनि। "दस वर्ष भयो भाई,यो बाटो नहिँडेको। बाटो पनि बिर्सिएछ। यो दिदीले भाईलाई दु:ख दिई है ?"- दिदी भन्नुहुन्छ। 'हैन, दिदी दु:ख त तपाईँलाई पो भयो। एकछिन कुर्नुभको भए बाइक आउँने रहेछ। यस्तो बेलामा अलि सहज त हुन्थ्यो,तपाईँलाई। म त भाग्यमानी रहेछु,तपाईंलाई भेटेँ। तपाईँलाई नभेटेको भए,मान्छे हिड्न छोडेर मृत प्राय यो बाटो गुगल म्यापलाई त पत्ता लगाउँन गाह्रो पर्ने रहेछ। मैले त झन् कसरी पो पत्ता लगाउँथे होला र।'- म भन्छु। यतिखेरसम्म हामी तामाङ गाउँमा निस्की सकेका छौँ। युवाहरु खासै देखिँदैनन्,गाउँमा। एकजना बुढी आमै कोदाको बीउ काढ्दै हुनुहुन्छ। तीन चार जना बुढी आमैहरु रोप्दै हुनुहुन्छ। हलोझैँ कुप्रीएका बूढो बा हलो जोत्दै छन्। युवाहरु भौतिक सुख सुबिधा र सपनाको खोजीमा शहर पस्न थालेपछी आजकल गाउँमा यस्तै मन दुख्ने दृश्यहरु मात्रै देखिन्छन्। माटोले तन्नेरी हातहरुको स्पर्श नपाएको त वर्षौँ भैसक्यो।
निरन्तरको हिँडाईले हिड्न नसक्ने भईसकेको छु। दिदीलाई एकछिन बसौँन भन्न पनि सक्दिन। उहाँलाई जसरी नि पुग्नुछ,मन्थली रफर्किनु छ, घर। जहाँ पर्खिरहेका हुनेछ्न्,दुई बचेरा,माउको पर्खाईमा। सकि-नसकी दिदीलाई पछ्याईरहेको छु,बच्चाले माउ पछ्याएझैँ। मलाईभन्दा बढी गाह्रो त दिदीलाई भएको छ र पनि हिँडिरहनु भएको छ उहाँ,सायद अतितमा हराउँदै।
हामी अब यात्राको अन्तिम-अन्तिम बिन्दुमा छौँ। दोबाटो छुट्टिए जसरी अब हामीले छुट्टिनु छ,यहि डाँडोबाट। एउटा बाटोमा हुनेछ भाई र अर्को बाटोमा हुनेछिन्,दिदी। जीवनको नियम पनि यहि त हो- भेट्टिनु,छुट्टिनु। छुट्टिनु,भेट्टिनु। हामी धोबीको मुख्य बजारमा पुगिसकेका छौँ। सामान्य दिनको तुलनामा अलि बढी नै भिडले थिचिएको छ बजार। बुधबारको दिन, बजार छेउकै चौरीमा हाट लाग्ने रहेछ। तिनै हाट भर्ने हटारुहरु रहेछ्न्,ती। हाटहरुमा घरायसी खिर्चिमिर्चि सामान किनिन्छ्न्। आफुले उत्पादन गरेका वस्तुहरु छन् भने बेचिन्छ्न् पनि। घर गृहस्थिमा भिजेकाहरुका लागि सामान किनबेच गर्ने ठाउँ हुन हाट। युवायुवतीका लागि त झन् राम्रा डेटिङ स्पट हुन्,हाट। तर पछिल्लो समय शहरमा ठुला-ठुला डिपार्टमेन्ट स्टोर र सुपर मार्केटले हाटलाई विस्थापित गरेता पनि गाउँमा हाट लाग्ने संस्कार अझै जीवित नै छ। हाट हाम्रो संस्कार हो। हाट हाम्रो परम्परा हो। शहरको तुलनामा गाउँमा संस्कार र संस्कृति लामो समय टिक्छ। लामो समय बाँच्न सक्छ। गाउँमै सिर्जना भएर लामो समय गाउँमै टिक्न सक्ने र बाँच्न सक्ने भएकाले पनि होला सायद,गाउँलाई संस्कार र संस्कृतिको जननी मानिएको पनि।
दिदी देवरलाई खोज्न थाल्नुहुन्छ,आँखैले। "ल भाई,छुट्टिउँ।"- दिदी भन्नुहुन्छ। 'खाजा वा खाना खाएर छुट्टिउँन दिदी ?'- "म भन्छु। नखाउँ भाई।" कर गर्न सक्दिन। तनावको बेला तनाव नै खाइन्छ,खाना त कहाँ रुच्छ र। "ल खाना खाएर राम्रोसँग जाउ है भाइ ?"- दिदी भन्नुहुन्छ। 'हस् दिदी,हजुर नि राम्रोसँग जानुहोला।'- म भन्छु। छुट्टियौँ हामी। हिड्नुभयो दिदी र हराउँनुभयो भीडमा।
एउटा होटलमा गएर खाना सोध्छु-'खाना छ ?' होटल साहुजी- "छ।" 'मासु ?' "कुखुराको।" यसो हेर्छु,फोहोर जस्तो लाग्छ। फोहोर रहेछ,भन्न सक्दिँन। बहाना बनाउँछु- 'खसीको छैन ?' होटल साहुजी- "छैन।" मनमनै भन्छु,नभएकै ठिक। सामुन्ने सडक पारीको होटलमा जान्छु। वारी खसीको मासु सोध्ने म पारी कुखुराकै मासुसँग खाना खान्छु। खाँदै गर्दा सोच्छु,ठिकै गरेछु,त्यहाँ नखाएर। खाको भए,यति मीठो खाना मिस गर्ने रहेछु। यो बाटो फेरि कुनै दिन आईएछ भने खाना त यहिँ खान्छु। मनमनै बाचा गर्छु। ६०-६५ वर्षका लाग्ने बुढा बा र आमा हुनुहुन्थ्यो,होटल चलाउँने। कति मिठा हात। कति मीठो स्वाद। मुखमै झुन्डिरहने। पैसा तिर्छु र भन्छु- 'धन्यवाद बा आमा यति मीठो खानाको लागि।' हाँस्नुहुन्छ,उहाँहरु। विदेशी सानो-सानो कुरामा पनि धन्यवाद भन्छ्न्। धन्यवाद दिन्छ्न्। तर हामीमा त्यो संस्कार त्यति हुर्किसकेको छैन। खाना खाने बित्तिक्कै हिँडिहाल्न मन लाग्दैन। झन्डै एक घन्टा बिताउँछु,त्यहिँ। बाआमाका मिठा र रसिला गफ सुनेर। बोल्न भन्दा सुन्न बढि मन पराउँने म सुन्छु बाआमाका गफ मज्जाले। मोबाईल निकाल्छु,समय हेर्छु,११ बजेछ। सोच्छु- दिदी कहाँ पुग्नुभो होला ? तिल्पुङ,हलेदे।- अनुमान लगाउँछु। म पनि हिँड्नुपर्छ अब,मनसँग भन्छु।जानुपर्ने बाटो सोध्छु। बताईदिनुहुन्छ। बाआमासँग गएँ भन्छु र निस्कन्छु,होटलबाट। र, ओरालो झर्छु,एक्लै-एक्लै।
यात्राको सुरुमा एक्लै थिँए र यात्राको अन्तिममा पनि एक्लै। जीवनको शाश्वत नियम पनि यहि त हो। यात्रा त एक्लै गर्नुपछ,जीवनको। तर हामी भन्छौँ,मेरो त प्यारी श्रीमती छे,प्यारो श्रीमान् छ। छोरो छ। छोरी छे। साथीभाई छन्। समाज छ। यी त सब जीवनको यात्रामा भेटिएका यात्री न हुन्। को कहाँ र ,को कतिखेर छुट्छन् पत्तै हुन्न। हामी भ्रममा बाँचेका छौँ। हाम्रो भ्रम त्यतिखेर तोडिनेछ,जतिखेर बस स्टेसन छोडिँदै गए जसरी हाम्रा सारा सम्बन्धहरु छोडिँदै जाने छन ।
- रविन्द्र बुढाथोकी,रामेछाप।(budhathokirabindra0@gmail.com)