भारतलाई बिजुली बेचेर प्राधिकरणले ४ महिनामा साढे १२ अर्ब रुपैयाँ आम्दानी गर्‍याे

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा एक अर्ब ३६ करोड १२ लाख युनिट बिजुली निर्यात गरी १२ अर्ब ५० करोड आठ लाख रुपैयाँ आम्दानी गरेको छ ।

बिजुली निर्यात गएकाे आव २०७९/८० को यही अवधिको तुलनामा चार अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । गएकाे आवको पहिलो चार महिनामा प्राधिकरणले ९८ करोड ३८ लाख युनिट बिजुली निर्यात गरी सात अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली यस वर्ष गएकाे जेठ २८ गतेदेखि भारतीय बजारमा बिक्री शुरु गरेको थियो । प्राधिकरणले साउनमा दुई अर्ब १४ करोड ७६ लाख, भदौमा तीन अर्ब ४७ करोड ८५ लाख, असोजमा चार अर्ब १७ करोड ७७ लाख र कात्तिकमा दुई अर्ब ६९ करोड ७० लाख रुपैयाँको बिजुली निर्यात गरेको छ । चार महिनाको समग्र औसत बिजुली बिक्री दर प्रतियुनिट नाै रुपैयाँ १८ पैसा छ । गएकाे वर्ष यही अवधिको समग्र औसत बिक्री दर प्रतियुनिट सात रुपैयाँ ७६ पैसा थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा बिजुली निर्यातबाट आम्दानी भएकाे रकमले देशको विदेशी मुद्रा सञ्चिति र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताउनुभयो ।

प्रााधिकरणले आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम झन्डै एक सय १० मेगावाट बिजुली भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि–एनभीभीएनलाई बिक्री गरिरहेको छ । एनभीएनले नेपालकाे बिजली हरयाणामा राज्यमा बिक्री गरिरहेको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएकै पाँच सय २२ मेगावाट मध्येबाट पहिलो चरणमा झन्डै ४४ मेगावाट बिजुली रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभीभीएनलाई एक सय १० मेगावाट गरी छ सय ३२ मेगावाट बिजुली निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये पाँच सय ६२ मेगावाट बिजुली ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।