भोला पासवान र पहाडको बाटो, कवि “अज्ञात” ऋषी राई (भिडियो सहित)
तराईको ईटाभन्दा राम्रा पहाडका चप्लेटी ढुंगाहरु
तराईको सालभन्दा बलिया सल्लाका चिरानी काठहरु
ढुंगा , माटो , काठ सबै सबैमा सिप खिपेर
कहिं स्कूलको भवन , कहिं हाईड्रोपावर
कतै ठूला महल , त कतै भुईचाँलोले भत्काएको छाप्रो
सबै सबैलाई जोडेर चटक्क एउटा संरचना दिने
भोला पासवान र उसका साथीहरु
आज त्यहि पहाड छाडेर पैदल भागिरहेछन् देहातबाट ।
सकिन लागेको चिउराको पोका ,
कुच्चिएको डिउको थोत्रो बोतलको पानी
बोरामा भिर्ने लगाएको झोला
कहिले खोला खोल्सी कहिंले जंगलमै बास बसेर
सातौं दिन पनि फन्को लाईरहेछन्
पहाडको बाटो ।।
अनेकन सरकारका पालिकाहरु काट्दै काट्दै
पहाडे दाजुले दिुनभएको कागजको नक्सा बोकेर
मिस्त्री भोला पासवान गाउँकै लेबरहरुलाई पछि लाएर
अपरिचितलाई प्रवेश निषेध लेखिएको धेरै गाउँहरु नमस्ते गरेर काटिरहेछ
धेरै पालिकासँग राहत माग्न ऊ र उसका साथीहरु नगएका पनि होईनन्
न उसले पालिका प्रमुख भेटन् पायो , न राहत नै पायो
त्यहाँ उसले बुझेको भनेको पालिकामा अस्ति भर्खर चुनाबपछी
आएको पालिका प्रमुखको आफन्त पिएले
हप्काएपछी फर्किनु पर्छ रित्तो हात
नभए एसएलसी पनि राम्रो पास नगरी
सोर्स लाएर छिरेको कर्मचारीको हातमा पालिका छ ।
उसले झनै क्वारेन्टाईनमा हाल्न बेर लाउँदैन् ।
आज पहाडको कान्लाको ट्याक्टर उसलाई जहाज जतिकै छ
उसले घरको साईकल पनि सम्भ्mयो
र आज आठौं दिन भज्ञ्याङ्गबाट तल तराई देखियो
सुन्निएका खुट्टामा पनि अझ साहस पलायो
श्रीमति झुमरतियाले माछा मारी होली घुंगी टिपी होली
पकाई होली र अबेर सम्म पर्खी होला
र फेरी छोपी होली र झुण्ड्याईहोली सिकमा ।
सबै सबै सम्झेर खुसी मन फेरी एकमुट्ठी
चिउरा चपाएर , ओरालो लागिरहेछन्
भोला पासवान र उसका साथीहरु
सोचिरहेछन् यो देशमा मजदुरले भोकै मर्नुभन्दा
बरु कोरोनाले मर्न पाए कम्तीमा
भोकले भर्नेको सन्तान भनेर पुस्तैभरी खिसी टिउरी सहनुभन्दा
रोगले मरेको भनेर प्रोत्साहन पाउँथे होला ।।
मनमा अनेकन आशा निराशा
साथमा गाउँले भाईहरुको भरोसा
बाकेर पहाडको बाटो छिचौल्दैछन्
अहिलेपनि थुप्रै थुप्रै भोला पासवान र उसका साथी ।।