भ्रष्टाचारको भुमरीमा फसेको नेपाली राजनीति
प्रदीप सुनुवार, काठमाण्डौ

नेपालको राजनैतिक इतिहास देखि वर्तमान सम्म आइपुग्दा, अपबाद पनि भेट्न मुस्किल छ, जुन सरकारले भ्रष्टाचार नगरेको होस। राजनीतिक पार्टीहरुको भिन्नता भ्रष्टाचारको मात्रामा मात्र फरक देखिएको छ।

नेपालका जुन स्थापित भनिएका राजनीतिक दलहरु छन ती सबै वैकल्पिक राजनैतिक शक्तिका रूपमा कुनै समय उदाएका थिए । नेपाली काङ्ग्रेस जसले प्रजातान्त्रिक आन्दोलन साथै समाजवादको मुद्दा  लिएर आफुलाई स्थापित गराएको थियो।

त्यसपछि नेकपा (माले ) जसले सामन्तका विरुद्ध लड्दै जनताको बहुदलीय जनवादको मुद्दा अघि सारेर जनताको सामु आफुलाई स्थापित गराएको देखिन्छ । २०५२ बाट सुरु भएको माओवादी जनयुद्धले १० वर्षको आसपासमा विश्राम लिएको थियो ।

यस नौलो जनवादी क्रान्तिले सर्वहारा श्रमिक मजदुर वर्गको पक्षमा न्याय गर्ने समाजवाद हुदै साम्यवाद सम्म जाने वाचा दिदै नेपाली जनताको सामु आए र जंगल देखि सिंहदरबार सम्मको यात्रा सफल भएको थियो।

"राजनीतिको वास्तविक भाव भनेको राज्यसत्तामा आफ्नो वर्चश्व कायम गरि जनताको हकहितका निमित्त कार्य गर्ने यो एक प्रकारको सेवा हो। "

आज सम्म हामीले भोग्दै, देख्दै आएको नेपाली राजनीतिको चर्तीकलाले आक्रान्त बनाइसकेको छ। यो प्रवृत्तिलाई हेर्दा कहिले सम्म कुर्नु पर्ने हो वा मात्र कल्पनामै सिमित हुने हो।

आज देश र जनताको यो हालत यस्तो  भएको छ यसको मुख्य जिम्मेवार यिनै राजनैतिक दलहरू हुन । राजनैतिक पार्टीहरुले कहिले पनि आफ्नो गल्ति स्वीकार गरेनन् गल्ति सधैं एकले अर्को प्रती देखाएर आफुलाई शुद्धीकरणको बाटो तर्फ मात्र लागे, गल्ति सच्चाउने कोशिश नै भएन।

वर्तमान सरकार यति सम्म नालायक हुनुमा प्रतिपक्षी दलको पनि उत्तिकै दोस् छ। आजको विभिन्न घटनाक्रमहरुमा प्रतिपक्षी दलले खासै आफ्नो असहमति, विरोधलाई स्पष्टताको रुपमा राख्न सकेको देखिदैन ऊ मात्र बिधिको पालना गरिरहेको देखिन्छ । जब प्रतिपक्षी दलको कमजोर उपस्थिति हुन्छ सत्तावालको हालीमुहाली चलिहाल्छ।

सत्तामा नहुदैमा उ सत्य र चोखो छु भन्नू भ्रम हो। हाम्रो राजनीतिक दलहरूले सधै यस्तै भ्रमहरु जनतालाई छर्ने गर्छन। सत्तारूढ दल र प्रतिपक्षी दल यी दुबैले धेरै पटक सत्ता सिंहासनमा बसिरहेका छन। यस कारण पनि कसैले कसैलाई दोष आरोप लाएर छुट पाउने छैनन् । आज देशको यो परिस्थिति जिम्मेवार सबै राजनीतिक दलहरूले लिनुपर्छ ।

"नेपाली राजनीति वास्तमै राजनीति नभए र व्यवसाय बन्न पुगेको छ। यहाँ आउने लगानी गर्ने र मुनाफा लिने चलनचल्तीको विकास भएको छ।"

राजनीति पार्टी मुलतः संगठन, विचार, सिद्धान्त, दर्शनले निर्मित हुने हो तर विडम्बनाका साथ भन्नुपर्छ आज हरेक पार्टीहरुले यो विषयलाई गौण बनाइदिएका छन।

जब राजनीति व्यवसायीकरण हुन पुग्यो यहाँ बाट निस्वार्थ भावमा जनताको हितमा कुनै पनि कार्य हुन सक्दैन । राजनीति पेशा र व्यवसायीक तरिकाबाट अघि आउनु नै भ्रष्टाचारको मुल जरा हो र अर्को पार्टीगत भ्रष्टाचारको पनि गुणात्मक रुपमा विकास भएको देखिन्छ।

देश र जनताको सेवामा लाग्नु पर्ने राजनीति दलको नेताहरू कसरी भ्रष्टाचार गर्ने कसरी अकुत सम्पत्ति आर्जन गर्ने भन्नेसोचमा मग्न हुन्छन। आजको यो राजनैतिक व्यवस्था सम्म आउन पनि धेरै वीर सपुतहरुको त्याग, बलिदानीबाट आएको यो व्यवस्थाको दुरुपयोग भएको छ।

नेपाली राजनीतिक दलहरुका कारण पनि होला त्यो भन्दा बढी आन्तरिक गुटबन्दी र किचलोमा प्रत्येक पार्टी अल्झेको देखिन्छ। आफ्नो पार्टीले जनताका सामु गरेको प्रतिबद्धता के कति गर्न सकियो कति गर्न बाँकी छ भन्ने सोचाइमा कुनै पनि पार्टीहरु छैनन् ।

सधै कुर्सी र पदको लुछाचुडिमा लठ्ठ देशका नेताहरुको घैंटाेमा घाम कहिले लाग्ने हो?

सबै राजनीतिक दलहरूले पहिले आफ्नो पार्टीलाई एकतामा बाध्नुस पार्टी बनाउने अनि देश बनाउने भाषण गर्दा सुहाउँदो हुनेछ।

नेपाली राजनीति यी विविध कारणले गर्दा भ्रष्टाचारी भुमरीमा यति नराम्ररी फसेको छ। युवाहरुको राजनीतिमा राम्रो नै उपस्थिति छ तर पनि युवाहरुको भुमिका खासै देखिदैन ऊ आफ्नो विवेक र विचारमा भन्दा पनि माथिको आदेश बढी पालना गरेको देखिन्छ ।

हामीले इतिहास हेर्दा हरेक ऐतिहासिक परिवर्तनको नेतृत्व युवाहरूले गरेका थिए । किन आजको परिवेशले युवाको भुमिका नदिएको वा युवा शक्तिहरु जिम्मेवार नभएको यो एक गम्भीर प्रश्न हो। आजको यो समाज बिल्कुल सहि सलामत छ? यदि छैन भने यसलाई सहि गतिमा कसले ल्याउनु पर्ने हो।

यदि कसैले जिम्मेवार लिएको छ वा लिन्छु भनेर गरेको छैन भने पनि त्यसको खबरदारी कसले गर्ने हो। खबरदारीले मात्र यो स्थिति परिवर्तन हुन्छ जस्तो देखिदैन। हरेक दलहरूमा युवाहरू छन तर उनीहरुले कहिले पनि आफ्नो पार्टीले गरेको गलत भन्दैन र विरोध गर्दैन र सधै विपक्षको गलती खोज्नमा नतमस्तक हुन्छ।

केही जाने बुझेका नेताहरूले पनि थाहा पाए पनि आफू राजनीती यात्रामा पछि हुने डरले चुपचाप बसेका छन। सबै युवाहरूले पहिले आफ्नो पार्टीमा भएको कमीकमजोरीलाई सच्चाउन सिक्नुपर्छ , अनि दोस्रो पार्टीको कमीकमजोरी देखाउनु तर्फ लाग्नु पर्छ।

"अरुको गल्ति कमजोरीलाई देखाएर कहिले आफू अब्बल हुन सकिदैन भन्ने ज्ञानको विकास हुनु पर्‍यो ।"

हाम्रो नेपाली राजनीतिमा नयाँ संस्कृतिको विकास हुन सकेन। अब त राजनीति किन गर्ने प्रश्न गर्दा पनि यसको वास्तविक अर्थले न्याय पाउदैन । त्यही पुरानै परिपाटीको राजनीतिक प्रवृत्तिलाई निरन्तरता दिएको छ।

हाम्रो समाजको विकास काम केही नभएको भन्ने होइन विगतलाई हेर्दा केही भएको जस्तो देखिन्छ तर जति हुनुपर्ने हो त्यो चाहिँ भएको छैन। नेपाली राजनीति भ्रष्टाचारको भुमरीमा फस्नु नै नेपालीको ठुलो दुर्भाग्य हो। यसकारण राजनीति त छदैछ हाम्रो समाजिक जीवनशैली, संस्कृति, शिक्षा, विकासको निर्माण लगाएतका धेरै विषयहरुलाई असर पुगेको छ।

✍️ प्रदीप सुनुवार, काठमाण्डौ