भूकम्प पीडितलाई सुदूरपश्चिम सरकारको एक करोड रुपैयाँ सहयोग
सुदूरपश्चिम सरकारले कर्णाली प्रदेशका भूकम्प पीडितलाई एक करोड आर्थिक सहयोग गरेको छ । शनिवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भूकम्प पीडितका लागि कर्णाली प्रदेश सरकारलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहायता पुग्ने गरी एक करोड रुपैयाँ र स्वास्थ्य सामग्री सहित २० जना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिनुभयो।
कर्णाली प्रदेशको जाजरकोट जिल्लाको बगरकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ बजेर ४७ मिनेटमा आएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा भएको मानवीय र भौतिक क्षति प्रति सुदूरपश्चिम प्रदेश सरकारले दुःख प्रकट गरेको छ ।