चार करोड रुपैयाँकाे लागतमा चोभारमा नमुना क्यानओपी जीपलाइन सञ्चालनमा

चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ । आज शनिवारबाट सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै पहिलो पटक नमुना जीपलाइनको रुपमा निर्माण गरिएको व्यवसायीहरुले दाबी गरेका छन् ।

क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालको भनाइ छ । शुरुमा एड्भेन्चर्स, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी तीन वटा अनुभव लिन सकिने बताएको छ ।

कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले यो नेपालकै पहिलो र नमुना जीपलाइन क्यानओपी रहेको दाबी गर्नुभयो । उहाँले जीपलाइन एउटै स्टेप र अनुभवमा सकिने भए पनि चोभारमा भने तीन वटा अनुभव लिन सकिने बताउनु भयो ।

उहाँले द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव प्राप्त गर्ने बताउनु भयो । उहाँले जापानी प्रविधि र नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएकाले सुरक्षित रहेको र बालबालिकादेखि वृद्धवृद्धाहरु सबैले अनुभव लिनसक्ने बताउनु भयो ।

उहाँले जीपलाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज गरी तीन वटा प्याकेज रहेको र न्यून दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी एउटा मात्रै अनुभव लिनेलाई ५ सय र तीन वटै अनुभव लिनेलाई १ हजार २ सय रुपैयाँ टिकट निर्धारण गरिएको जानकारी दिनुभयो । उहाँले स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो नेपालकै पहिलो र नमुना जीपलाइन क्यानओपी हो । जीपलाइन एउटै स्टेपमा, एउटै अनुभवमा सकिन्छ । तर यहाँ र यो तीन वटा अनुभव एकै ठाउँमा लिन सकिन्छ । द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव यहाँबाट पाउनुहुनेछ । प्रविधिका हिसाबले पनि जापानी प्रविधि, एक्सपर्टका हिसाबले नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएका छौँ । सुरक्षाको हिसाबले पनि नमुना छ ।’

कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका निर्देशक हिमाल गुरुङले चोभारलाई पर्यटकीय हब बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले पर्यटकीय हब बनाउन सबैको साथ र सहयोग चाहिने बताउनु भयो ।