कोलोराडोमा पहिलोपल्ट कुमारी रथ तानेर येंयाः मनाइँदै।

✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।नेवाः समुदायको बाक्लो बसोबास रहेको कोलोराडोमा धर्म संस्कृति संरक्षण तथा पहिचान गर्ने उद्धेश्यले येंयाः को कार्यक्रम आयोजना गर्न लागिएको छ ।

कोलोराडो नेवाः खलःको आयोजनामा बर्षा र सहकालका देवता ईन्द्रको पूजा आराधना गर्दै नेवाः समुदायले मनाउने येंयाः आगामी सेक्टेम्बर २२ तारिक आइतबारका दिन नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा मनाउन लागिएको हो ।

इन्द्रजात्रा काठमाडौं , भक्तपुर, ललितपुर, लगायत नेवाः समुदायको बस्ती रहेका स्थानमा इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवाः समुदायले मनाउने जात्रा हो । यसलाई इन्द्र जात्रा पनि भनिन्छ। इन्द्र जात्राको प्रमुख कार्य नै लिंगो ध्वजा स्थापना हो । मठै मठ र मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल मानिन्छ । जात्रा भाद्र शुक्लपक्ष द्वादशीका दिन सुरू भई मंगल चौथीसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी सम्पन्न गरिन्छ।

आफ्नी आमा वसुन्धराको व्रत निम्ति स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा उनलाई चोर भनी डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनको संझनामा इन्द्रजात्रा मनाउने गरिन्छ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लगिन् भन्ने कथन अझै नेवाः समुदायमा जिवितै छ ।

यस अवसरमा हनुमानढोका लगायतका क्षेत्रमा जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ । काठमाडौंमा मजिपा लाखे नाच तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा पुलुकिसि प्रदर्शन गरिन्छ भने भक्तपुरमा महाकाली नाच, दसअवतार नाच नचाउने गरिन्छ। यि र यस्तै धर्म, सँस्कृति र परंपरालाइ संरक्षण तथा पहिचाहन गराउन येंयाः शुरू गर्न लगिएको कोलोराडो नेवाः खलःका कार्यवाहक अध्यक्ष मनोज काजी तुलाधरले बताएका छन् । उनले सेक्टेम्बर २२ का दिन दिउसो १२ बजे देखि साँझ ५ बजेसम्म संचालन हुने कार्यक्रमको प्रचार प्रसार गरी जात्रामा उपस्थित भइ कार्यक्रमलाई सभ्य तथा भव्य तरिकाबाट सफल बनाउन सम्पूर्ण संघ संस्थाका प्रतिनिधि, कलाकार, पत्रकार, गन्यमान्य, बुद्धिजिवी, व्यवसायी तथा सबै नेपाली भाषी आमा बुबा, दाजुभाइ, दिदी बहिनीलाइ अनुरोध गरेका छन् ।

कार्यक्रममा तलेजु भवानीको प्रतिमूर्ति, जीवित देवी कुमारीको रथ, लाखे नाच, धिमेबाजा, पुलुकिसि नाच, हाथु हायेके, परम्परागत नेवाः गीत संगीत तथा नृत्य, समेबजि वितरण, जस्ता कार्यक्रम रहेको संस्थाका महासचिव सञ्जय शाक्यले बताएका छन् । उनले थप्दै भने - कोलोराडोको इतिहामा पहिलोपल्ट कुमारी रथ तानेर येंयाः मनाउॅंदैछौं । जात्रालुहरूलाई निःशुल्क प्रवेश र समेबजिको व्यवस्था गरिएको छ । सपरिवार येंयाःमा रम्न रमाउन उनले सबैलाइ अनुरोध गरेका छन् ।