कोलोराडोमा मगर संस्कृति झल्कने माघे सक्रान्ति बिशेष कार्यक्रम सम्पन्न।
✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।कोलोराडोमा माघेसक्रान्तिको अवसरमा मगर संस्कृती झल्कने माघे सक्रान्ति बिशेष कार्यक्रम सम्पन्न भएको छ । मगर संघ अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा यही जनवरी १७ तारिक शनिवारका दिन विविध मगर संस्कृति झल्किने कार्यक्रम गर्दै माघे संक्रान्ति पर्व मनाएका हुन् ।
वेस्टमिनिस्टर स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा मगर संस्कृति अन्तर्गत पर्ने सालैजो, लाईभ कौडा, मारुनि लगायतका मौलिक सांस्कृतिक तथा परिकारहरु बटुक, तरुल, सेलरोटी साथै मगरी भेषभुषाको प्रस्तुति रहेको थियो ।
जहाँ रहे पनि जहाँ बसे पनि, नभुलौ मातृभुमिलाई जोगाई राखौ युगौ युग कला र संस्कृतिलाई भन्ने मुल नाराका साथ मगर समुदायको मौलिक संस्कृति, भाषा र पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा समुदायका अगुवा, स्थानिय संघ संस्थाका प्रतिनिधी, कलाकार तथा स्थानिय नेपालीभाषी समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर तथा नेपालको प्रथम सहिद लखन थापा मगरको तस्बिरमा खादा सहित माल्यार्पण गर्दै शुरूगरिएको गरिएको थियो । आदिवासी जनजाति आयोगका सदस्य डा. मीन श्रीस मगरको प्रमुख आतिथ्यता तथा मगर संघ अमेरीका कोलोराडोका च्याप्टरका अध्यक्ष उपेन्द्र रानामगरको सभापतित्वमा सम्पन्न कार्यक्रम नेपाल र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गान बजाउदै अघि बढाइएको थियो ।
मगर संघ अमेरीका कोलोराडोका सचिव बिक्रम बारघरेद्वारा संचालित कार्यक्रममा मगर संघ अमेरिका कोलोराडो च्याप्टरकी सह–सचिव तथा कार्यक्रम संयोजक श्रीष्टिना पुर्जा मगरले स्वागत मन्तव्य र केशव थापा मगर र भुमिका पुन मगरले स्वागत नृत्य मार्फत सम्पूर्ण अतिथि तथा सहभागिहरूलाइ स्वागत गरेका थिए ।
समारोहमा मगर संघ अमेरिका कोलोराडो च्याप्टरमा विभिन्न जिम्मेवारी सम्हाल्दै निरन्तर योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । यसरी सम्मान हुनेहरूमा लछुमन राना मगर, कृष्ण कुमार थापा मगर र टेक बहादुर थापा मगर रहेका छन् । उनिहरूलाइ कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति आयोगका सदस्य डा. मीन श्रीस मगरबाट दोसल्ला ओढाएर तथा सभापति उपेन्द्र राना मगरले प्रमाण पत्र प्रदानगरी सम्मान गरेका थिए ।
त्यसैगरी सोही समारोहमा कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति आयोगका माननीय सदस्य डा. मीन श्रीस मगरको परिचय झल्कने श्रब्यदृश्य देखाइएको थियो । कार्यक्रममा उहाँले मगर समुदायको भाषा, संस्कृती, पहिचान र उत्थानमा अमुल्य योगदान पुर्याउनु भएको भन्दै खादा तथा सम्मान पत्र प्रदानगरी सम्मान गरिएको थियो । सम्मान पछि समारोहलाई सम्बोधन गर्दै मिन श्रीले प्रवासमा रहेर पनि आफ्नो भाषा संस्कृतिको संरक्षण र पहिचानगर्न अहोरात खटिइ रहनुभएका सबैलाइ धन्यवाद दिदै संस्कृति हराए पहिचान हराउने भएकोले भाषा संस्कृतिलाइ पुस्तान्तरण गर्ने वाताबरण श्रृजना गर्न सबैलाइ अनुरोध गरे ।
त्यस्तै मगर संघ अमेरिका केन्द्रीय समितिका पश्चिम क्षेत्रका उपाध्यक्ष कृष्ण थापा मगरले सम्बोधन गर्दै समुदायको उन्नति प्रगतीकोलागी सबै एकजुट भएर बढ्नु पर्ने धारणा राखेका थिए मगर संघ अमेरिका, कोलोराडो च्याप्टर सभापति उपेन्द्र रानाले सबैको साथ र सहयोगले कार्यक्रममा सफल बनाउन सकिएको भन्दै उपस्थित सबैलाइ धन्यवाद दिएका थिए ।
औपचारिक कार्यक्रमको अन्त गर्दै सांस्कृतिक कार्यक्रम सुरु भएको थियो । जहाँ मगर समुदायको संस्कृति पहिचान झल्कने कौराह, झ्याउरे, सोरठी तथा सालैजो नृत्य र गायन प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्थानिय कलाकारहरू माया आले मगर, विष्णु थापा मगर , सलिना राना, समीर राना, सुमिना बराल, नारायण ध्वज बुढा, उपेन्द्र राना मगर , राजु आले, भोजेन्द्र थापा, सृष्टिना पुर्जा, सजना सिकेनिशा पुन, सन्नी राना, समान्था राना लगायत कलाकारहरूको शुन्दर प्रस्तुतिले दर्शकको मनजित्न सफल भएका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागी सबै कलाकारहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमा माघे संक्रान्तिको परम्परा अनुसार तरुल, मासको बारा र सेलरोटी उपस्थित सम्पुर्ण सहभागीहरूलाई बितरण गरिएको थियो ।
विश्व मानचित्रमा नेपाल भौगालिक रुपमा सानो भएपनि सांस्कृतिक रुपमा बिशाल रहेको छ । नेपाल भित्र फुलेको सुन्दर जातिय फुलहरु मध्ये मगर जाति नेपालका आदिवासी समुदायहरूमा सबैभन्दा बढी संख्या भएको आदिवासी हो भने मौलिक कला , ज्ञान , परम्परा, संस्कार र संस्कृतिको धनी जाति हो । नेपालका मगर समुदाय विश्वभर छरिएर रहेकाछन । विश्वभर छरिएर रहेका मगरहरुको आधारभूत मौलिकताहरू एकै भएपनि भेषभुसा , भाषिक र सांस्कृतिक रुपमा बिबिधता छ ।
बिबिधतामा एकता नै मगर जतिको सुन्दरता हो भने निश्वार्थ, सहयोगी भावना, कोमल हृदय मगर व्यक्तित्व परिचय हो । मगरहरू मेहनती, ईमान्दारिता र वीरताको लागि सुपरिचित छन् । मगरहरु पश्चिम र मध्यपश्चिम नेपालको पहाडी तथा मध्य हिमालयन क्षेत्रमा सघन बसोबास रहेको छ भने नेपालको ७७ जिल्लामै मगरहरुको बसोबास रहेको छ ।