
डिसेम्बर १३ । अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । अमेरिकाले फाइजर/बायोएनटेक खोप दिन लागेको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको छ ।
एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो । खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख डोज सबै राज्यहरुमा पुर्याइने अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ । अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख ५ हजार नाघेको छ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ३०९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ५ हजार ८२ पुगेको छ । यस्तै त्यहाँ १ करोड ६५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख २० हजार २९८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।
पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ६५ लाख ४९ हजार ३६६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ४४ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ६५ लाख ९९ हजार ९५९ जनामध्ये २७ हजार ५२३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
त्यस्तै दक्षिण कोरियामा एकैदिन ९५० कोरोना संक्रमित थपिएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र बढेको छ ।
उनीहरुका अनुसार यसअघि दैनिक पाँच सयदेखि छ सयसम्म नयाँ सङ्क्रमित थपिने गरेकोमा शनिबार ९५० संक्रमित थपिएका हुन् । कोरिया रोग नियन्त्रण तथा निवारण कार्यालयले महामारी थप फैलिँदै गएकाले उच्च सतर्कता अत्यावश्यक भएकोमा जोड दिएको छ ।
विभिन्न देशमा कोरोनाविरुद्धको खोप प्रयोगमा आइसकेको बेलामा आफ्नो देशमा भने महामारी थप फैलिँदै जानु अतिगम्भीर विषय भएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बताएका छन् ।
महामारी नियन्त्रणका लागि सरकारले सबै शक्ति र संयन्त्र परिचालन गरिरहेको उनले जानकारी दिए । रेल स्टेनशनसहित मानिसको अत्यधिक भीडभाड हुने थप १५० ठाउँमा कोरोनाभाइरसको सङ्क्रमण परीक्षण गर्ने केन्द्र स्थापना गरिएको उनको भनाइ छ ।
सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले कतिपय व्यवस्थामा कडाई पनि गरेको छ । सामाजिक दूरी कायम गर्नु पर्ने, भीडभाड गर्न नहुने, मास्क लगाउनु पर्ने लगायतका नियमलाई सरकारले पालना गराउने सक्रियता बढाएको छ ।
रेष्टुरेन्टमा बस्न नपाईने, खाद्य पदार्थ किनबेच मात्रै गर्न पाइने, नौ बजे भित्रमा बन्द गरिसक्नुपर्ने लगायतका नियम पनि कडाइका साथ लागू गरिएको छ । यता भारतमा थप २७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २७ हजार १८२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९८ लाख ५४ हजार २०८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९३ लाख ५३ हजार ४६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३३२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४२ हजार ९९४ पुगेको हो ।
श्रोत -एजेन्सी