ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा हुदै ।

“आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०२१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजना हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सन् २०२२ जुलाई ३ तारिखमा अवार्ड आयोजना हुने जानकारी गराइयो । कोरोनाका कारण सन् २०२० र २०२१ मा भने अवार्ड हुन सकेको थिएन ।

‘एटिए एभरेष्ट इन्स्यूरेन्स’को प्रायोजन र नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए) को आयोजनामा हुन लागेको अवार्डमा सफल नेपाली चलचित्र र चलचित्रकर्मीलाई सम्मान, अमेरिकामा रहेका चलचित्रकर्मीलाई प्रोत्साहन तथा सम्मान, भुटानी कलाकर्मीलाई सम्मान गरिने कार्यक्रममा जानकारी गराइयो ।

अवार्ड कार्यक्रममा भुटानी चलचित्रहरुबीच प्रतिस्पर्धा गराएर पहिलो, दोस्रो र तेस्रो हुनेलाई अवार्ड पनि प्रदान गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पूर्नमिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको उनले जानकारी दिएका छन् ।

‘यो अवार्डको उद्देश्य विदेशमा नेपाली चलचित्रको प्रवद्र्धन गर्नु हो । नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउनका लागि हो । अमेरिकामा नेपालबाट धेरै कलाकारहरु पुगेका छन्, उनीहरुसँग पूर्नमिलन गर्नु पनि अवार्डको उद्देश्य हो । नेपाललाई चलचित्र टुरिजमको हब बनाउनु पनि अवार्डको उद्देश्य हो । हामीले पैसा कमाउनका लागि अवार्ड गरेका होइनौं,’ अध्यक्ष मल्लले भने ।

चाँडै अवार्डका लागि छनोट समिति गठन हुने बताइएको छ । ‘ग्लोबल फिल्म अवार्ड’ लाई शुभकामना दिनका लागि नीर शाह, शिव श्रेष्ठ, करिश्मा मानन्धर, अशोक शर्मा, उज्जवल घिमिरे, आर्यन सिग्देल, रविन्द्र खड्का, सरिता लामिछाने, अर्जुन पोखरेल लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । अवार्डमा सहभागी हुनका लागि नेपालबाट ठूलो संख्यामा चलचित्रकर्मीहरु अमेरिका जानेछन् ।