दशैँको मौका छोपी बढी भाडा लिने माइक्रो बसलाई कारबाही

तनहुँ – दमौली जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने माइक्रो बसलाई कारबाही गरेको छ । दमौलीबाट काठमाण्डौ जाने माइक्रो बसले प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले माइक्रो बसलाई जरिबाना तिराएर कारबाही गरेको छ भने यात्रुहरुको भाडा फिर्ता गराएको छ ।

दमौलीबाट काठमाण्डौ छुट्ने माइक्रो बसले प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा आज बिहान जाँच गरी सबै यात्रुहरुको भाडा फिर्ता गराइएको छ ।

दमौलीबाट काठमाण्डौसम्मको भाडा छ सय ५० रुपैयाँ रहेकामा चाडपर्वको मौका छोपी केही गाडीले एक हजार रुपैयाँसम्म लिने गरेको गुनासो आएको छ । विष्टले भन्नुभयो, ‘दशैँको मौका छोपी बढी भाडा लिएको गुनासो आएपछि म आफैँ चेकजाँचका लागि पुगेको थिएँ, काठमाण्डौ जाँदै गरेको माइक्रो बसलाई आँबुखैरेनीमा रोकेर कारबाही गरेका छौँ ।’

चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो । यस्तै, भोर्लेटारचोकमा बिहानै काठमाण्डौ जाने यात्रुहरुबाट एक हजार रुपैयाँ लिएको गुनासो आएपछि प्रहरीले तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइसकेको छ ।