दुईवटा मोटरेवल बनाउन एक महिना पनि लागेन, स्थानीय हर्षित
सोलुखुम्बु : जिल्लाकोे सोलुदुुधकुण्ड नगरपालिका वडा नम्बर–२ मा २८ दिनमै दुई वटा मोटरेवल पुल निर्माण गरिएको छ । मंसिर १० गते सिलन्यास गरिएको मोटरेवल पुलको काम २८ दिनमा सम्पन्न भएको बेनी हाइड्रोपावर प्रोजेक्टका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले जानकारी दिनुभयो ।
बेनी हाइड्रोपावरद्धारा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ जुनबेशी हुँदै बग्ने इडिङबासा र मिन्जुङ खोलामा निर्माण गरिएको उक्त पुलको विहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको जनसम्पर्क अधिकृत शेर्पालो बताउँनुभयो ।
इडिङबासा खोलामा रु.६८ लाख ३६ हजार २३७ को लागतमा १३ मिटर लम्बाइ र ५ मिटर चौडाईको पुल निर्माण गरिएको कम्पनीले जनाएको छ । यस्तै मिन्जुङ खोलामा रु. ११ लाख ९९ हजार १ सय ५८ मा ३ मिटर लम्बाई ४.६ मिटर चौडाईको निर्माण गरिएको बताइएको छ । उक्त पुलको क्षमता ३० टन रहेको निर्माण कम्पनीले जनाएको छ । नवनिर्मित पुलको उद्घाटन सेरलो गुम्बाका प्रमुख लामा परमपुज्य धर्मगुरु पेमा थार्चेन रेम्पोच्छेले गर्नुभएको हो ।
हिमालय बौद्ध विद्यापिठ सेर्लोले आयोजना गरेको उक्त कार्यक्रममा सयौ स्थानीयको उपस्थिति रहेको थियो । बेनी हाइड्रोपावर कम्पनीले सामाजिक उत्तरदायित्व शिर्षकको बजेटबाट निर्माण गरेको पुल गुणस्तरीय भएको स्थानीयको प्रतिक्रिया छ । छोटो समयमा गुणस्तरीय काम हुनु स्थानीयको लागि खुसीको कुरा रहेको उनीहरुको भनाई छ ।
सामाजिक उत्तरदायित्वको बजेट कम भएपनि स्थानीयको माग अनुसार आफुहरुले काम गरिहेको बेनी हाइड्रोपावरले जनाएको छ । पुल, सडक र विजुली बत्तिको क्षेत्रमा आफुहरुले काम गरेको कम्पनीका अधिकृत शेर्पाको भनाई छ ।
सोलु खोलामा निर्माणाधिन बेनी हाईड्रोपावर १९ मेगावाटको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।