
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार हिमालयन र आर्मीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ५५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
शनिबार रोकिएको हिमालयन र आर्मीबीचको बाँकी खेल आइतबार भएको हो ।
शनिबार भारी वर्षा र चट्याङको कारण हिमालयन र आर्मीबीचको खेल ७१ औं मिनेटमा रोकिएको थियो । त्यहिँ समयबाट आइतबार दुई टोलीबीचको खेल भएको हो ।
यस बराबरीसँगै हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ । आर्मीले १३ खेलमा २० अंक जोडेको छ ।
त्यस्तै, साविक विजेता मछिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार मछिन्द्र र सातदोबाटोले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।
खेलको २३ औं मिनेटमा मछिन्द्रका विमल घर्ति मगरको हेडर पोस्टको नजिकैबाट बाहिरिदा अग्रता बनाउन चुकेको थियो ।
२९ औं मिनेटमा विमलकै अर्को हेडर पोस्टमाथिबाट बाहिरिएको थियो ।
खेलको ३१ औं मिनेटमा प्रशान्त अवस्थीको प्रहार पोस्टमाथिबाट बाहिरिदा मछिन्द्र अग्रता बनाउन चुकेको थियो ।
पहिलो हाफको इन्जुरी समयमा सातदोबाटोका विलियम ओपोकुले करिब ३३ यार्डबाट प्रहार गरेको बल मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले मुश्किलले जोगाए ।
दोस्रो हाफमा पनि दुबै टोलीले गोलको अवसर पाएको थियो । तर, दुबै टोलीले त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।
यस बराबरीसँगै मछिन्द्रले १३ खेलमा १८ अंक जोडेको छ । मछिन्द्र सातौं स्थानमा रहेको छ । सातदोबाटोले १३ खेलमा २२ अंक जोडेको छ ।
सातदोबाटो तेस्रो स्थानमा रहेको छ ।