‘ए’ डिभिजन लिग : जावलाखेल शीर्ष स्थानमा

काठमाडाैं । जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।   च्यासल मैदानमा शनिबार मनाङ मर्स्याङ्दी क्लबलाई ३-० गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो ।

यस जितसँगै जावलाखेलले ९ खेलमा १७ अंक जोडेको छ । मनाङ १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । त्यस्तै शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र क्लबले न्युरोड टिम एनआरटीसँग १–१ गोलको बराबरी खेलेको छ । खेलको ३९ औं मिनेटमा ओमालाजा नुरेन करिमले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६७ औं मिनेटमा स्टेफन जुनियरले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै मछिन्द्रले ९ खेलमा १३ अंक जोडेको छ । एनआरटीले ८ खेल ७ अंक जोडेको छ ।