‘ए’ डिभिजन लिग : शेर्पा र मनाङ बराबरीमा, नेपाल पुलिस रेलिगेसनबाट जोगियो
काठमाडौं । राजधानीमा जारी ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
एन्फा मैदान सातदोबाटोमा शेर्पा र मनाङले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
मनाङका लागि निराजन धामीले १३ औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफकै ३६ औं मिनेटमा शेर्पाका अबायानी फकुल्नीले गोल गर्दै खेल बराबरीमा ल्याए ।
बराबरीसंगै मनाङ १७ खेलबाट २१ अंक रहेको छ भने हिमालयनको १७ खेलमा २१ अंक रहेको छ ।
त्यस्तै, आज सम्पन्न अर्को खेलमा विभागीय क्लब नेपाल पुलिस रेलिगेसन जोनबाट बाहिरिएको छ ।
दशरथ रंगशाला आज भएको खेलमा संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिस रेलिगेसनबाट बाहिर निस्किएको हो ।
पुलिसका लागि मोजेस ग्याबा खेलको आठौं मिनेट र मोहमद आशिकले ७९ औं मिनेटमा गोल गरेका थिए । संकटाका लागि एकमात्र गोल निशान खड्का खेलको २३ औ मिनेटमा गरेका थिए ।
जितसँगै पुलिस ११ औं स्थानमा उक्लिएको छ । पुलिसको १७ खेलमा १९ अंक छ । समान खेल खेलेको संकटाको २० अंक रहेको छ ।