
काठमाडौं । थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा शेर्पालाई १–० ले पराजित गर्दै थ्री स्टार दोस्रो स्थानमा उक्लन सफल भएको हो । थ्री स्टारको जितमा लाकेन लिम्बुले गरेको गोल नै निर्णायक बन्यो । उनले १४औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
पाँचौ मिनेटमा अशोक खवासको क्रसमा आदित्य शाक्यको हेडर सदुपयोग हुन सकेन । १४औ मिनेटमा लाकेन लिम्बुले गोल गर्दै थ्री स्टारलाई १–० को अग्रता दिलाए । आदित्य शाक्यको क्रसमा लाकेन लिम्बुको प्रहार सन्जित राईलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत हुँदा गोलरक्षक किशोर गिरी पनि झुक्किन पुगे ।
३४औ मिनेटमा आदित्य शाक्यको पेनाल्टी बक्स बाहिरको प्रहारलाई गोलरक्षक किशोरले मुस्किलले पञ्च गर्दै बचाए । ४८औं मिनेटमा कप्तान विश्वास श्रेष्ठ पेनाल्टीमा चुक्दा शेर्पा बराबरीबाट चुक्यो । पेनाल्टी बक्समा एबायोमी फकुन्लेलाई पिटर सेगुनले फउल गरेपछि रेफ्रीले शेर्पालाई पेनाल्टी प्रदान गर्दा विश्वासको प्रहार आकासियो ।
५४औं मिनेटमा आदित्यको प्रहारमा गोलरक्षक किशोर नै बाधक बन्दा थ्री स्टार अग्रता दोब्बर पार्नबाट चुक्यो । ६६औं मिनेटमा अजायी मार्टिन्सले अवसर पाएपनि सदुपयोग गर्न सकेन । ७३औं मिनेटमा थ्री स्टारका सिफामान्डलाको हेडर सदुपयोग हुन सकेन ।
८५औं मिनेटमा पिटर सेगुनले आफ्नो डिफेन्स लाइनबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारलाई किशोरले डाइभ दिदै बचाए ।
यस जितसँगै दोस्रो स्थानमा उक्लिएको थ्री स्टारको १० खेलबाट १८ पुगेको छ । एक खेल कम खेलेको सातदोबाटोको १७ अंक छ । पराजित शेर्पा १० खेलबाट ९ अंक जोडेर १३औं स्थानमा छ ।