एनआरएनलाई झाँक्रीको प्रश्न- यही हो सभ्यता ? के सिक्नुभयो ? (पूर्णपाठ)

काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएन)को विश्व सम्मेलन अन्तर्गत ‘नागरिकता र मताधिकार’ विषयको ‘प्यानल डिस्कसन’मा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिले यतिबेला चर्चा पाइरहेको छ । एनआरएनका कतिपय सदस्यहरूले नागरिकता विधेयकको विरोध गर्दै प्लेनरी सेसनमा सहभागी राजनीतिक नेतृत्वको आलोचना गरेपछि उनले जवाफमा आक्रोशपूर्ण अभिव्यक्ति दिएकी छिन् ।

एनआरएनको अफिसियल फेसबुक पेजमा राखिएको भिडियो हेर्दा प्यानल डिस्कसनमा सहभागीहरूमध्ये तीन जनाले राखेको धारणाको सार एनआरएनलाई वंशजको नागरिकता दिनुपर्ने माग छ ।

उनीहरूमध्ये आफूले बेलायतमा सम्पत्ति जोडेको बताउने एक जनाले राजनीतिक अधिकारविनाको नागरिकता ‘कागजको खोस्टो’ सरह भएको टिप्पणी गर्छन् । उनले राजा र समोसा व्यापारीको कथा सुनाउँदै उनले भनेका थिए, ‘राजा समोसा खाने मान्छेसँग पनि लोकप्रिय हुन खोजे, समोसा बेच्ने मान्छेसँग पनि लोकप्रिय हुन सके । हाम्रो गाउँघरतिर यसलाई आफैं … … आफैं झाँक्री भन्छन् । नेपालले विदेश गएका मान्छेले सम्पत्ति किन्न नपाउने र विदेश गएकाहरूले अरु नेपाली सरह सुविधा उपयोग गर्न नपाउने भनेर समस्यापूर्ण कानुन यो संसदले, यहाँहरु माननीय भएको संसदले आफैं ल्यायो र आफैं यस्तो एउटा कागज दिएर प्रशंसा गर्न खोज्दै हुनुहुन्छ । यो त्यति चित्तबुझ्दो कुरा भएन ।’

उनीपछि बोल्ने अर्का व्यक्तिले चाहिं नागरिकता पाउने तर राजनीतिक अधिकार नपाउने संसारमा कहिं नभएको दाबी गर्दै आफूहरूको मानवअधिकार हनन भएको बताउँछन् । राजनीतिक अधिकारविनाको नागरिकता दिलाएर एनआरएन अध्यक्ष कुल आचार्यले भ्रममा पार्न खोजेको भन्दै उनले आचार्यलाई ‘फाँसी भोग्नुपर्ला’ भन्दै धम्काउन खोज्छन् ।

उनी यत्तिमा रोकिँदैनन् । गणतन्त्र आइसक्दा पनि देशको हालत उस्तै रहेको भन्दै उनले एनआरएनका अध्यक्षद्वय आचार्य र बद्री केसीसँगै मञ्चमा आसिन रामकुमारी झाँक्री र चित्रलेखा यादवलाई लक्षित गर्दै भन्छन्, ‘कि तपाईंहरु हट्नुस्, गैरआवासीय नेपालीलाई बोलाउनुस् देश बनाउन सुरु हुन्छ।’

बेल्जियममा बस्दै आएका मदन दवाडीले भने भर्खरै जन्मिएकी आफ्नी छोरीको खानपान नमिलेको उदाहरण दिंदै आफूहरुको जिनमा र रगतमा नेपाली नै भएको भन्दै नागरिकताविहीन बनाउन नहुने बताउँछन् ।

त्यसपछि मोडरेटरले रामकुमारी झाँक्रीलाई समय दिन्छन् । ड्यासमा आएकी उनले ‘तपाईंहरु जस्तै चिच्याएर कुरा गर्न त आउँथ्यो मलाई । तर यहाँ अतिथि भएको हुनाले चिच्याउन अलि मिलेनजस्तो लाग्यो,’ भन्दै कुरा राख्न सुरु गरिन् ।