एपिएफ बन्यो भलिबल च्याम्पियन

काठमाडाैं । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई हराउँदै अर्को विभागीय टोली एपिएफले प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा एपिएफले पुलिसमाथि ३–१ सेटमा जित निकालेर च्याम्पियन बनेको हो । विभागीय तीन र दुई प्रदेशले सहभागिता जनाएको प्रतियोगिताको विजेता एपिएफले विजेताले ४ लाख रुपैयाँ तथा उपविजेता पुलिसले २ लाख रुपैयाँ हात पारेको छ ।

लिग चरणको खेलमा पराजित भएको एपिएफले पुलिसबिरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सफल भएको हो । पाँच टोलीले सहभागिता जनाएको प्रतियोगितामा एपिएफका टेकराज अवस्थी सर्वोत्कृष्ट खेलाडी चुनिँदै नगद १५ हजार रुपैयाँ हात पारे । यस्तै उत्कृष्ट स्पाईकर आर्मीका धन बहादुर भट्ट घोषित हुँदा उत्कृष्ट लिबेरोको उपाधि एपिएफका विनोद चन्दले पाए ।

यस्तै उत्कृष्ट सेटर एपिएफका लोकेन्द्र गिरी बन्दा, उत्कृष्ट ब्लकर एपिएफका सुनिल घर्ती मगर, उत्कृष्ट सरभर पुलिसका कप्तान इम राना मगर तथा उत्कृष्ट प्रशिक्षक एपिएफका महेश चौधरी चुनिए । उत्कृष्ट सबैले नगद १० हजार रुपैयाँ हात पारे ।