एसीसी प्रिमियर कप : युएईको सानदार जित

काठमाडौं । एसीसी प्रिमियर कप मेन्स क्रिकेटमा युएईले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा युएईले कुवेतलाई १४३ रनले पराजित गरेको हो ।

युएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६।३ ओभरमा सवै विकेट गुमाएर २२८ रन बनायो । कुवेतका सयद मुनीमले सर्वाधिक ६८ रन बनाउँदा परिवन्दर कुमारले ५३ रनको पारि खेले ।

कप्तान मोहम्मद अस्लम ३३ रनमा आउट हुँदा उस्मांगी इब्राहिम १६ रनमा पभेलियन फर्किएका थिए । युएईका जुनेद सिद्धिकी र कार्तिक मेयएप्पनले तीन तीन विकेट लिएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३७१ रन बनाएको थियो । पहिलो पाँच ओभरमा तीन विकेट गुमाउँदै २४ रन बनाएको युएईको पारीलाई रोहन मुस्तफा र वृतिया अरविन्धले २७५ रनको साझेदारी गर्दै उकासेका थिए ।

यी दुई खेलाडीले सतक पुरा गरेका छन् । वृतिया अरविन्दले १४७ बलमा १७ चौका र नौ छक्का प्रहार गर्दै १८५ रन बनाएका थिए । त्यस्तै रोहन मुस्तफाले १२५ बलमा १० चौका र ४ छक्काको मद्दतले ११८ रन बनाए ।

त्यस्तै अर्का ब्याट्सम्यान आशिफ खानले ८ बलमा ३० रन बनाउँदै पविलियन फर्केका थिए । कुवेतले सुरुवाती पाँच ओभरमा तीन विकेट लिएता पनि पछि विकेट लिन असफल रहे ।

कुवेतका लागि प्रविन्दर कुमार र शाहरुख कुदरुसले समान २–२ तथा सयद मनिब,यासिन पटेलले समान १–१ विकेट लिए।