एसीसी प्रिमियर कपमा ओमानको सानदार जित

काठमाडौं । एसीसी प्रिमियर कपमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । ओपनर जतिन्दर सिंहको सानदार शतकमा ओमानले दोस्रो जितका साथ सेमिफाइनल खेल्ने सम्भावना मजबुत बनाएको छ।

जितको लागि २ सय २८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको ओमानले ४१.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओमानको जितमा जतिन्दर सिंह १ सय ११ बलमा १३ चौका र १ छक्कासहित १ सय १ रनमा नटआउट रहे । कप्तान जिशान मकसुद ५८ बलमा १० चौकासहित ५२ रनमा आउट भए । दोस्रो विकेटका लागि जिशान मकसुद र जतिन्दर सिंहले १ सय रनको साझेदारी गरेका थिए ।

ओपनर कश्याप प्रजापति ६९ बलमा ९ चौका र १ छक्कासहित ६६ रनमा आउट भए । पहिलो विकेटका लागि कश्याप प्रजापति र जतिन्दर सिंहले २२.३ ओभरमा १ सय २३ रनको सानदार शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । शोएब खान २ रनमा आउट भए । मलेसियाका मोहम्मद आमिरले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । मलेसियाका युवा ब्याटर विरनदीप सिंहले १ सय ४४ बलमा १३ चौकासहित ९४ रनमा आउट भए ।

जिशान मकसुदको बलमा बोल्ड आउट भएपछि उनी शतक बनाउन ६ रनले चुकेका थिए । मोहम्मद स्याहादतले ६० बलमा ६ चौका र १ छक्कासहित ५५, मोहम्मद आमिर २०, सैद अजिज १८ र मोहम्मद वाफिकले १९ रन बनाए ।

ओमानका जिशान मकसुदले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । बिलाल खान र आयन खानले समान दुई विकेट लिए ।समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।

ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । ओमानले कतारलाई ४० रनले हराउँदा नेपालसँग ८४ रनले पराजित भएको थियो । ओमानले अन्तिम खेलमा साउदी अरेवियालाई बुधबार पराजित गर्न सके सेमिफाइनलमा स्थान बनाउने छ ।