गायक बन्ने दाउमा एक नारायण, गाए ‘जुम्लाबाट आउनुभयो मित’

काठमाण्डौँ । प्रायःगीतमा प्रितका विषय समाबेश गरिन्छ । स्रोता दर्शकको रोजाइमा पनि माया पिरतीका विषय पर्दछन् । तर यो पटक सर्जक एक नारायण भण्डारीले लोक गीतमा मितका कुरा समाबेश गरेका छन् ।

सरल सृजनाका धनी मानिएका सर्जक भण्डारीले यो गीतमा निकै जोखिम मोलेका छन् । फरक कथावस्तुमा गीत चल्न सक्ने आशाका बीचमा आफैँले गाएका छन् । यसअघि आफ्नै सृजना ‘आँखा खोल्छु होला’मा पहिलो पटक स्वर रेकर्ड गरेका थिए । भण्डारीका लागि ‘जुम्लाबाट आउनुभयो मित’दोस्रो रेकर्ड हो ।

‘आँखा खोल्छु होला’माया पिरतीमा आधारित थियो भने दोस्रो रेकर्डिङ मितेरी सम्बन्धमा केन्द्रीत छ । डिजिटल बजारमा नयाँ प्रयोगलाई मन पराउने आशाले सायद गीतमा मितेरी साइनोको प्रसंगलाई ल्याएर मौलिकतालाई प्रस्तुत गरेको सहज आँकलन गर्न सकिन्छ । गीतमा शब्द, संगीत र स्वर भण्डारीकै रहेको छ ।

उनको यो गीत सफल बने उनले गायकको परिचय स्थापित गर्नेछन् । गीतमा जुम्लाबाट आउनुभएको मितको कुरा, मितले साथैमा ल्याउनुभएको कोशेली जिम्बु, सिलाजीत, हिङ, बोजो, सियो र खीप ल्याएको र त्यसको साटोमा आफूले मितलाई कोदो उपहार दिएको प्रसंगलाई मिठासपुर्वक प्रस्तुत गरिएको छ । नेपाली समाजमा हराउदै गएको मितेरी साइनोलाई सर्जक भण्डारीले व्यूँताइदिएका छन् । जस्ले मौलिकतालाई उजागर गरिदिएको छ ।

कुमार केसीको निर्देशनमा निर्माण गरिएको गीतको भिडियोमा गीतको भावलाई आकर्षक तवरले उतारिएको छ । सुधिर श्रेष्ठ र विजय पुनले मितको भूमिका निर्वाह गरेका छन् । भने, सृजना जिसी मितिनीको भूमिकामा छिन् । गीतलाई एक नारायण भण्डारी यूटुवबाट अपलोड गरिएको छ । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको यो गीतले दुई लाख नजिक भ्यूज बटुलेको छ ।

सर्जक भण्डारी हरेक विधाका गीत सृजनामा पोख्त मानिन्छन् । लोक गीत लेखनबाट उदाएका भण्डारीले लेखेका थुप्रै चलचित्र र आधुनिक गीतहरु लेकप्रिय छन् । उनले लेखेका ‘डाँफे नाचेर’, ‘सुपारी चाम्रो’, ‘लालुपाते नुग्यो भुँइतिर’, ‘रातो पछ्यौरी’, ‘छिपछिपे पानीमा लेउ’, ‘सोल्टी राजाको टुम्लेट’लगायतका दर्जनौ गीत सर्वाधिक मन पराइएको गीत भित्र पर्दछन् ।