
✍️हेम गिरी, डेनभर, कोलोराडो।अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपाली भाषी भुटानी समुदायको सक्रिय संस्था ग्लोबल भुटानीज कम्युनिटी कोलोराडो (जीबीसीसी) ले सेप्टेम्बर ६ तारिकका दिन आयोजना गरेको वार्षिक पिकनिक तथा भलिबल प्रतियोगिता २०२५ उत्साहपूर्ण र भव्य रूपमा सम्पन्न भएको छ।

कोलोराडोमा रहेका नेपाली भाषी भुटानी समुदायको एकता कायम राख्नुका साथै खेलकुदमार्फत सामाजिक सद्भाव र आपसी मेलमिलाप बढाउने उद्देश्यले आयोजित यो कार्यक्रममा स्थानीय नेपाली भाषी समुदायको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतियोगितामा ६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए, जसमा पूल एमा लिबर्टी, एफसी, र ड्रुक्युल तथा पूल बीमा सीएनटी, केसीएससी, र युंग स्टारले भाग लिएका थिए। खेल तालिकाअनुसार पूल एमा लिबर्टी भर्सेस एफसी, एफसी भर्सेस ड्रुक्युल, र लिबर्टी भर्सेस ड्रुक्युलबीच खेलहरू सम्पन्न भए। यस्तै, पूल बीमा सीएनटी भर्सेस केसीएससी, केसीएससी भर्सेस युंग स्टार, र सीएनटी भर्सेस युंग स्टारबीच प्रतिस्पर्धा भएको थियो।

पहिलो सेमिफाइनलमा पूल एको विजेता ड्रुक्युल र पूल बीको उपविजेता सीएनटीबीच, भने दोस्रो सेमिफाइनलमा पूल बीको विजेता केसीएससी र पूल एको उपविजेता लिबर्टीबीच रोमाञ्चक खेलहरू भए। फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलको विजेता सीएनटी र दोस्रो सेमिफाइनलको विजेता केसीएससीबीच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिताको मुख्य आकर्षणको रूपमा रहेको फाइनल खेलमा केसीएससी र सीएनटीबीच कडा टक्कर देखियो। उत्कृष्ट प्रदर्शन गर्दै केसीएससीले सीएनटीलाई पराजित गर्दै प्रथम उपाधि हात पारेको छ। विजेता टोलीमा क्याप्टेन इरोश राई चाम्लिङसहित खसमो राई चाम्लिङ, टेइसन राई चाम्लिङ, प्रवेश राई चाम्लिङ, सन्दीप राई, अमोल राई, र सयल राई रहेका थिए। उपविजेता सीएनटी टिमको नेतृत्व क्याप्टेन दिनेश राईले गरेका थिए, जसमा प्रकाश राई, सुरेन राई, पुकार राई, अव्राम खनाल, हेम खड्का, मोनि पाण्डे, र रमेश कार्की समावेश थिए।

विजेता टोली केसीएससीलाई नगद पुरस्कार १,००० डलरसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो, भने उपविजेता सीएनटीले ७०१ डलरसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताको ‘म्यान अफ द टुर्नामेन्ट’ को सम्मान केसीएससीका शनिप राईले हात पारे। साथै, स्थानीय नेपाली भाषी भुटानी बालिकाहरूबीच आयोजित प्रदर्शनात्मक खेल (Exhibition Game) ले समारोहमा थप रौनकता थपेको थियो।

यो विशेष कार्यक्रमको उद्घाटन आयोजक समितिका अध्यक्ष प्रो. चुडा बरालको सभापतित्वमा भएको थियो, जसमा एनआरएन अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष निमा शेर्पा र चन्द्र गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशेष अतिथिहरूमा कोलोराडोका विभिन्न क्षेत्रका नेपाली भाषी भुटानी समुदायका प्रतिनिधिहरू समावेश थिए।

प्रतियोगिताका प्रायोजकहरूमा आर एन्ड ए होमकेयरका केदार खतिवडा, स्प्रेड डेकेरका नारायण उप्रेती, राजु धौरली, इनडिपेन्डेन्ट मोर्टगेज तथा नेपाली ट्याक्स फाइलका दिलिप खड्का, स्पायर फाइनान्सियल मोर्टगेज एडभाइजर गंगा कोइराला, र आयोजक समितिका पूर्वअध्यक्ष तथा एभरेष्ट एडल्ट होम केयरका सोम बराल र मनि दाहाल रहेका थिए।

अतिथिका रूपमा केसीएससीका अध्यक्ष सह सुब्बा, कोलोराडो गुरुङ कम्युनिटीका ढोज गुरुङ, जीबीसीसीका स्थापना सदस्य तथा कोलोराडो हिन्दु कम्युनिटीका शिव भट्टराई, कलाकार नवराज श्रेष्ठ र कोलोराडो लक्ष्मी नारायण भजन टोलीकी भवानी न्यौपानेको सहभागिता रहेको थियो। आयोजक समितिका खेलकूद संयोजक ओम ढुङ्गेलले यो प्रतियोगिताले कोलोराडोमा नेपाली समुदायको सांस्कृतिक र खेलकुदजन्य गतिविधिलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।