विश्व रेकर्डको तयारीमा रहेको गीत र भिडियो ‘गोक्यो रि’


काठमाण्डौँ – विश्व रेकर्डका लागि उच्च स्थानमा रेकर्ड गरिएको गीत र सोही गीतको भिडियो सार्वजनिक गरिएको छ । विश्वकै सर्वाधिक अग्लो उचाई (४८१३ मिटर)मा अडियो रेकर्ड तथा भिडियो छाँयांकन गरिएको गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक गरिएको हो ।


मिलन किराँतीको गीत, विक्रम राईको संगीतमा वविना किराँतीले स्वर दिएको गीत सोलुखुम्बुमा अवस्थित गोक्यो ताल क्षेत्रमै रेकर्ड गरिएको हो भने भिडियो छांयांकन पनि सोही ठाउँमा गरिएको हो ।


पर्यटन प्रवद्र्धनको लक्ष्य राख्दै विश्व रेकर्ड कायम गर्ने द्येयले विश्वकै उच्च स्थानमा गीत र भिडियो रेकर्ड तथा छायांकन गरिएको प्रोजेक्टका अवधारणाकर्ता तथा पर्यटन व्यवसायी सन्च खालिङले बताए ।


‘रेकर्डिङ सिष्टम गोक्योमै लगेर गीत रेकर्ड गरिएको हो ।’ उनले भने, ‘गीतको रेकर्ड साउण्ड रेकडिष्ट छिरिङ भोटेले गर्नुभएको हो ।’


गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रक्रियामा रहेका यो गीत र भिडियो निर्माणमा ४ जनाको सहकार्य रहेको निर्माता राजन खरेलले बताए । पर्यटन व्यवसायी सन्च खालिङ (सोलुखुम्बु–बासा), लक्ष्मण कार्की (सोलुखुम्बु–सोताङ) र पावल राई ( म्यूजिसियन)निर्माताको रुपमा रहेका छन् ।


दुलर्भ जन्तरे (सोलुखुम्बु–सोताङ)को निर्देशनमा तयार भएको गीत र भिडियो निर्माणमा हालसम्म करिब २० लाख खर्च भइसकेको निर्माण टिमले जनाएको छ ।