हमासले भन्याे– ‘युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा गर्दैनाैँ’
गाजा क्षेत्रमा शासन गर्दै आएको हमासले इजरायलले गरिरहेको आक्रमण पूर्णरूपमा अन्त्य नहुँदासम्म बन्धक बनाइएका थप मानिसलाई मुक्त नगर्ने जनाएको छ । युद्धविराम र बन्धक रिहा गर्ने बारेमा वार्ता भइरहँदा हमासले विज्ञप्ति निकालेर आक्रमण पूर्णरूपमा अन्त्य भएपछि मात्रै थप बन्धक रिहा गर्ने बताएको बीबीसीले जनाएको छ ।
गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा अपहरणमा परेका भनिएका दुई सय ४० जनामध्ये एक सय २० जना अझै बन्धक रहेका बताइएको छ । इजरायलले बन्धकहरू मुक्त गर्ने सबैभन्दा उत्तम उपायको रूपमा सैन्य दबाबलाई लिएको छ । तर यो उपायले अहिलेसम्म उपलब्धि भने हासिल भएको छैन । इजरायलले अहिलेसम्म एक जना बन्धक मात्रै मुक्त गर्न सफल भएको छ ।
यसअघि एक हप्ता लामो सङ्घर्षविरामका क्रममा एक सय जनाभन्दा बढी बन्धक बनाइएका मानिस मुक्त भएका थिए ।
इजरायल–हमास युद्ध अन्त्य गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घमा प्रस्तावहरू पारित गर्ने प्रयास जारी छन् । सुरक्षा परिषदमा यसअघिको मतदानमा अमेरिकाले भिटो प्रयोग गरेपछि युद्धविरामको प्रस्ताव पारित भएको थिएन । अर्को मतदान आज राति हुँदैछ । इजरायल भने आफ्नो देशमा आक्रमण गर्न सक्ने हमासको क्षमता कमजोर नबनाउँदासम्म युद्ध रोक्ने पक्षमा देखिएको छैन । इजरायलको आक्रमणमा परेर गाजामा २० हजार जनाभन्दा धेरै मानिस मारिएका छन् ।