हङकङमा बिहिवार ९५ जनामा कोरोना संक्रमण, हालसम्म हङकङमा ४५ जनाको मृत्यु

युवा राई, हङकङ । हङकङमा विहीवार थप ९५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा ९१ जना स्थानीय र ४ आयातित गरी ९५ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन् । हङकङमा कोरोना संक्रमितको संख्या ३,८५० पुगेको छ।

नयाँ संक्रमितहरुमा ५२ जना अघिल्ला केसहरुसंग जोडिएका र ३९ जनाको संक्रमणको स्रोत खुल्न नसकेको जनाइएको छ। आयातित संक्रमितहरुमा फिलिपिन्सबाट फर्केका एक घरेलु सहयोगी र भारतबाट हङकङ फर्केका तीन जना रहेका छन्।

हङकङमा थप एक जना कोरोनाका मृत्यु भएको अस्पताल अथोरिटीले पुष्टि गरेको छ। ८५ वर्षीय पुरुष जेष्ठ नागरिकको विहीवार अपरान्ह चुन मुन अस्पतालमा मृत्यु भएको जनाइएको छ। त्यस्तै, मंगलवार चुन मुन अस्पतालमा मृत्यु भएका ८६ वर्षीय पुरुषमा पनि कोरोना पोजिटिभ भेटिएको पुष्टि भएको छ। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

हाल सम्म २,४५८ जना कोरोना लागेकाहरुले स्वास्थ्यलाभ लिएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १,२०४ जनाको उपचार भइरहेको छ। ३९ जना कोरोना सङ्क्रमित विरामीको अवस्था गम्भीर रहेको जनाइएको छ।