कविता- हुटिट्याउँले भन्यो !

- बल राम तिमल्सिना

हुटिट्याउँले भन्यो-

'मैले हात झिकें भने आकास खस्छ

मैले खुट्टा बजारें भने धरती पल्टन्छ

मैले पँखेटा चलाएँ भने हावा रोकिन्छ

तिमीहरू चुपचाप भोकै बस

तिमीहरू एकदम हल्ला नगरी शान्त बस'

त्यसपछि

चल्लाहरू बेस्सरी डराए र चुपचाप बसे !

हुटिट्याउँले भन्यो -

'म छु र यी घाम जून  छन्

म छु र यी ग्रह नक्षत्र छन्

म छु र यी समुद्र पहाड र वादल छन्

म छु र तिमीहरूको अस्तित्व छ

म रहिंन भने यी केही रहने छैनन्

तिमीहरू त झन रहने छैनौ

आओ नजिक नजिक आओ

सबै मेरा पँखेटामुनि आओ

के तिमीहरूलाई आफ्नो अस्तित्वको मायाँ छैन ?'

त्यसपछि

सबै बचेराहरू अझ चुपचाप बसे !
हुटिट्याउँले भन्यो-

'म नै ज्ञानहरूको पनि ज्ञान हुँ

म नै शक्तिहरूको पनि शक्ति हुँ

विदुषकहरूको विदुषक

हर्ता भर्ता र कर्ता मै हुँ

म मात्र एउटा सत्य हो

तिमीहरू फगत भ्रम हौ'

कोही बोलेनन्

सब चुपचाप बसे !
एक दिन हुटिट्याउँले भन्यो -

'सुन्यौ बचेराहरू हो ?

म माथि षडयन्त्र हुदै छ

पल्लो बगरमा कोही जाल बुन्दै छ

चिवे चराहरू र वकुल्लाहरू

मेरो सत्ता पल्टाउन खोज्दै छन्

अब तिमीहरूले बिचार गर्नु पर्छ

हुटिट्याउँको सत्ता जोखिममा छ !'
एउटा बचेराले मुस्किलले मुख खोल्यो'

श्रृष्टि, स्थिति र प्रलयका कारक

तीन लोक चौध भुवनका स्वामी

ज्ञानका पनि परम ज्ञान

शक्तिका पनि परम शक्ति

हे हुटिट्याउँ परमेश्वर

हजुरको सत्ता

चिवे चरा र वकुल्लाहरूले ढाल्ने ?

यो हुन सक्दैन प्रभु, हुनै सक्दैन !'
हुटिट्याउँले भन्यो-'

अज्ञानी मूर्ख वालक ती त सव भन्ने कुरा न हुन् !'

२०७७|०३|१५भक्तपुर