इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन सक्दैन : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताउनुभएको छ ।

आज मङ्गलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा उहाँले इतिहासलाई जोगाउन अति आवश्यक भइसकेको बताउनुभयो । ठाउँका नामहरू मौलिकरूपमा राख्नुपर्नेमा बाटो, गल्लीका नामहरू पहुँचवाला व्यक्तिको नाममा राख्ने परम्परा विकसित हुँदै जानुले ऐतिहासिक धरोहर, मूल्य मान्यता मेटिँदै गइरहेको उहाँकाे भनाइ थियाे ।

उहाँले भन्नुभयो, ‘इतिहासलाई जोगाउन पर्छ । इतिहास जस्तो भएपनि आफ्नै मूल्य हुन्छ, इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र, समाजको भविष्य उज्यालो हुन सक्दैन । आजभोलि के भएको छ भने जसलाई देख्यो उसैका नाममा चोक, उसैका नाममा बाटो, गल्ली भएका कारणले हाम्रो ऐतिहासिक धरोहर, मूल्य मान्यता शक्तिशाली मानिसको हातमा परेको छ ।’

सभापति लामिछानेले देशमा लघुवित्त, सहकारीका कारण ऋणको पासोमा पुगेका नागरिकलाई ऋणमुक्त गरेर जान सहकारी, बैंक र लघुवित्तको ब्याजदर व्यवस्थित गरेर जानसके राष्ट्रिय विभूति शङ्खधर शाख्वाप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।