चर्चित गायक जगदीश समालले आफ्ना चर्चित गीतहरुको ‘अनप्लग्ड भर्सन’ सार्वजानिक गर्दै ।

चर्चित गायक जगदिश समालले एउटा नयाँ र तीन पुराना लोकप्रिय गीतको ‘अनप्लग्ड भर्सन’ भिडियो सार्वजनिक गर्ने भएका छन्। उनले आफ्नो आधिकारिक युट्युब च्यानल ‘जगदिश समाल’ मार्फत भिडियोहरु दर्शकमाझ पुर्याउन लागेका हन्।

अनप्लग्ड भर्सन मध्येको ‘यति ठूलो संसारमा तिमी एक्लै हुन्छौ होला...’ बोलको गीतको भिडियो हालै सार्वजनिक भइसकेको छ। दर्शक स्रोताहरुबाट सकारात्मक प्रतिक्रियाहरु आइरहेको उनले जनाएका छन्।

दुई दशकअघि समालको पहिलो एल्बम ‘लहर’ मा समावेश गरिएको यो गीत त्यस बेलाको अत्यधिक रुचाइएको गीतमा पर्छ। सुरेन्द्र रानाले रचना गरेको गीतमा राजु सिंहको संगीत छ।

अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित ह्यारिवर्ग निवासी नेपाली संगीत पारखी एवं समालका शुभचिन्तकहरुले नयाँ भिडियोहरु उत्पादन गरेका हुन्। त्यहीँका नेपाली संगीतकर्मीहरुले भिडियोमा उनलाई साथ दिएका छन्।

भिडियो निर्देशन केदार उप्रेतीले गरेका हुन्। क्यामेरा, सम्पादन एवं छायाङ्कन सुरेन्द्रमान सिंहले गरेका छन्। बाँकी गीतहरुको अनप्लग्ड भर्सनहरु पनि चाँडै आफ्नो सार्वजनिक गर्दै जाने गायक समालले जानकारी दिए।