अर्थमन्त्री शर्माको आग्रह संसार भरी बसोबास गर्ने प्रवासी नेपालीले नेपालमा डलर खाता खोलिदिनुहोस ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली सङ्घ एनआरएनए युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले एनआरएनले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताए । उनले भने, ‘तपाईँहरूले थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ, तपाईँहरूलाई पनि फाइदा पुग्ने छ ।’
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छोटो समयमै यो नियम ल्याइएको बताए । उनले यसअघि रहेको १० हजार डलरलाई घटाएर पाँच हजार डलर पुर्याएको, दुई वर्षलाई घटाएर एक वर्ष गरेको, केही बैंकहरूले विदेशी मुद्रामा खाता खोल्न सुरु गरिसकेको र यो प्रावधान विदेशमा हुर्किरहेकाले दोस्रो पुस्तलाई नेपालसँग जोड्ने माध्यम बन्ने आशा पनि व्यक्त गरे ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले नेपाल सरकारले ल्याएको नयाँ सुविधाका लागि सरकारलाई धन्यवाद दिँदै यसले संसारभरका नेपालीलाई नेपालमा खाता खोलेर आफूसँग रहेको बचत नेपाल भित्र्याउन सहज हुने विश्वास व्यक्त गरे । उनले सङ्घले स्थापनाकालदेखि नै नेपालको समृद्धि र विकासका लागि साझेदारको रूपमा काम गर्दै आएको स्मरण गरे ।