कविता
झर्ने सबै आँसु होईन
झर्ने सबै आँसु होईन
मरिलाने जिवन पनि छैन
क्षितिजको आँखामा
पोतिने बादल मेरो गीत हैन
तर जितेर हिंड्ने
उम्मिद पनि मसंग छैन
सायद म भाग्छु यहाँबाट
उठेर नहिंड्ने पर्खाल समातेर
पातलो शीतको थोपा जस्तै
छिनभर बिलाएर
हिउँदको पहेंलो पातमा,
चिप्लेकिरा जस्तै घस्रिएर
सोचिबस्छु यो मेरो ठेगाना होईन
यहाँ कसैले मलाई चिठ्ठी पठाउन्न
जब कसैको संझना आउँदैन
सडकको अलकत्राजस्तो,
आफैलाई कुल्चिहिंड्ने
हजारौंमा कसैलाई संझना गर्नै पर्दैन !
थाहा छैन के हुनलाई मेरो आकार बनेको छ
कहाँ पुग्नलाई यो संधै हिंडिरहेको छ
पानी छोपिएको बादलको आकाशबाट
हेरिरहन्छ एउटा घाम
जब म आफै कुहिरोसरि
कठ्याग्रिएर सुस्ताएको हुन्छु
किन आउँछ अर्को दिन,
किन उदाउँछ घाम
बतास र पातको वेमेल कहानी बोकेर
किन दौडिहिंड्छ त्यो जून
पर्खी बसेको छु अर्को एउटा
गुडुल्किने दिनको लम्बाई समातेर
तर हार्नु मेरो नियती होईन ।
✍️ नारायण श्रेष्ठ
हाल - बोस्टन अमेरिका ।