निर्वाचित राष्ट्रपती बाइडेनले कोरोना बिरुदको खोप लगाए ।
डिसेम्बर,२१ - अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएका हुन् ।
यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् । उनले खोप लगाएको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो ।
उनीहरुले पनि खोपलाई लिएर सर्वसाधारणमा रहेको शंका दूर गर्नका लागि सार्वजनिक रुपमा खोप लगाएको बताएका छन् । खोप लगाउने क्रममा बाइडेनले भने, ‘उपलब्ध भएका बेलामा खोप लगाउन मानिसहरु तयार हुन भनेर मैले यस्तो गरेको हुँ । खोपलाई लिएर चिन्ता गर्नु पर्ने कुनै कारण छैन ।
अमेरिकामा अहिलेसम्म दुई खोपले स्वीकृति पाएका छन् । आइतबारदेखि मोदेर्नाले विकास गरेको खोप पनि लगाउन थालिएको छ । त्यसको एक हप्ता पहिले नै फाइजर–बायोएनटेकको खोप लगाउन थालिएको थियो ।
अहिलेसम्म पाँच लाख भन्दा बढि अमेरिकीले खोप लगाइसकेका छन् । बाइडेनको टिमले सत्ता सम्हालेको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने योजना बनाएको छ ।स्रोत - एजेन्सी