कविता-"मझदारको जिन्दगी"

म ब्युँझन्छु
अनि व्युँझन्छ विहान

ब्युँझाउछु हलो र जुवा

उज्यालो बोकेर
जब पुग्छु खेतको ढोका
हुर्कदै गरेका मकैका घोगाहरु मुस्कुराउछन्
अधिपत्य जमाउन उद्दत झारहरु मुर्झाउछन्

माटोको वक्षस्थलमा
जसै सल्बलाउछन्
हलोका औलाहरु
गड्यौलाहरु फेरि पुरिइजान्छन् कि भनेर
चराहरु मलाई पछ्याउछ्न्

आफ्नो समय बाँचिसकेका तरकारीहरु
कसैको भान्सामा पुग्ने
वा कुनै पसलको छिँडीमा बसेर
ग्राहक कुर्ने हतारोमा छन्
आफन्तकोमा उपहार भएर जान वा
कसैको भोकको प्यास निभाउन तयार छन् अम्बाहरु
नानी बाबु संगै स्कूल जाने दौडमा छन् सुन्तलाहरु

यति रंगिन इन्द्रेणी बोकेर पनि
लाग्छ -
किन श्याम श्वेत छ मेरो जिन्दगीको क्यानभास ?

जस्तो कि-
ननिदाउँ भने
खेत भरी लहलह धानले बयेली खेलिरहेछ
निदाउँ भने
पोहोर जस्तै
झरीसंगै बगी जाने पो हो कि
वर्षभरी जोगाएको, हुर्काएको पसिनाको पहाड

श्रमको भाउ पाउँछु कि पाउँदिन ? चिन्ता छ
बिरुवाले मागेको बखत
दिन सकिन भने मल
विरोधमा
सुकिजाला भन्ने खतरा छ
खडेरी त जसो तसो अैचो-पैचोमा टरिजाला
माटोले मागेको बेला
बिउकै खडेरी भयो भने कसो गरुँला ?

धानको सिक्री हेरेर रमाइरहेको सरकारलाई
ऋणको सिक्रीले बाधिएको मेरो व्याथा
सुनाउँ कि नसुनाउँ ?

कोदालीको अक्षरले
कोरुँ कि नकोरुँ
म र मेरो परिवारको गन्तब्य
वा सुरु गरुँ
कैहिल्यै नगरेको, नजानेको नयाँ काम
अथवा हालुँ
राहदानीको दरखास्त !

✍️ कवि रोशन पुन
बाग्लुङ, नेपाल
हाल: हिरोशिमा विश्वविद्यालय, जापान ।

नोट- May 27 - 29, 2022, Atlanta, Georgia, US मा NAPA द्वारा संचालित 3rd Biennial International Scieitific Conference  मा आयोजित कृषि कविता प्रतियोगितामा द्वितीय स्थान प्राप्त कविता ।