कविता - ‘वृद्धाश्रमबाट’
जुन अस्ताएपछि
जसरी हुन्छ पृथ्वी एक्लो
पातहरू झरिगएपछि
जसरी रित्तिँदै जान्छ रूखहरूको सौन्दर्य
प्रिय छोरा,
यो भूतघरजस्तो कोठामा बसेर
म टिपिरहेछु आँसुको फूल।
प्रसुतीघरको चिसो रातमा
पीडाले मारिपठाएका मेरा चञ्चलताहरू
मृत्युको नजिक पुगी
फर्किआएको मीठो आभास
तिमी जन्मिएको घोषणापछि
उत्सव मनाउन आएका तिम्रा परदेशी बा।
ती सब इतिहास सम्झिन्छु
वर्षौ भएछ
- मैले हाँस्न बिर्सेंको
- जिन्दगीको गीत गाउन बिर्सेको
- मीठो निद्रा निदाउन बिर्सेंको !
म यो बिछ्यौउनामा निदाउन त
कि गर्नुपर्छ - प्राण त्याग
कि त हुनुपर्छ सिकिस्त बिरामी !
यदि निदाएछु भनेपनि
मैले सपनामा देख्ने त - तिमीलाई मात्र हो ।
तिमी सानै छँदा
मैले रोपेको धूपीको बिरुवाले
कटाइसके होलान् कैयौं ऋतुहरू
तिम्रो हरेक जन्मदिनमा
खिचेर राखेको तिम्रो तस्बिरमा
लागिसक्यो होला याद खाने धमिरा
र, भत्कियो होला
तिम्रै दिर्घायुको कामना गर्दै
पूजा गर्ने तुलसीको बोट पनि ।
अहिले पनि सम्झन्छु
तिमी घर फर्केर
'आमा' भनी नबोलाएसम्म
खपेर बस्थेँ म - भोकको आतङ्क ।
थाहा छ छोरा ?
तिमी जन्मिँदा नि
न... र .... म... निकै नरम .... !
कपासजस्तै नरम थियौ
तर तिमी त
पत्थरजस्तै कठोर भइसकेका रहेछौ !
प्रिय छोरा,
प्रत्येक आमाको सपना हुन्छ
मरेपछि
आफ्नो सन्तानको काँधमा चढेर स्वर्ग पुग्ने
तर तिमीले त मलाई
वृद्दाश्रम पुर्याएर दियौ जिउँदैमा दागबती।
तिमी
हाँसीहाँसी छुट्टिएर
केही पर मात्र के पुगेथ्यौ
नराम्रोसँग चल्यो हुरी
र, झरे आँपका चिचिला
एकहुल बालकहरू दौडिँदै भागे घरतिर
त्यस बखत मैले बहुत सम्झिएँ तिमीलाई ।
यति नमीठो घृणाको धून बजाएर
तिमीले नै बिगार्यौ मेरो जीवनको अन्तिम लय
र, तिमीले नै भत्कायौ प्रेमको घर
म यो
शताब्दीजस्तो दिन काटेर
कुरिरहेछु मृत्युको आगमन ।
भन छोरा,
अन्तिम पटक मलाई भेट्न्
को आउँछ ?!
तिमी
या
मृत्यु !?
✍️ देवकी अभिलाषी
काठमाण्डौ ।