एकातिर
माँ भवानीको पूजा गर्ने
अनि अर्कातिर
छोरीचेलीलाई बलात्कार !
विचित्रको चलन रे,
रक्षा बन्धनमा राखी बाँध्ने
अनि सडक,
चोक र गल्लीहरुमा
यहाँ हुन्छ छोरीलाई सिटी फुक्ने खेल
कति बिचित्र छ मेरो देश !
यो कलम जान्न चाहन्छ
किन पाइनन् निर्मलाले न्याय ?
कहिलेसम्म सहने हो
हाम्रा चेलीहरुले यो अन्याय ?
बुद्धको देश रे,
अब कहाँ जानु शान्ति खोज्न नारीले ?
'मिनी स्कट' र 'थाइकट'को जमानामा
अनुहार छोपी हिंड्नु पर्ने रे
कति बिचित्र छ मेरो देश !
तिज यहाँ राष्ट्रिय पर्वको रुपमा मनाइन्छ
अनि हरेक दिन यहाँ
नारीको आलो रगतको खोलो बगाइन्छ
नारी त देवी रे
तर यहाँ देवीको नै बलात्कार गरिन्छ
कानून पनि छ यहाँ
यहाँ संविधान पनि छ
तर बलात्कारीलाई कुनै सजाय छैन यहाँ
ऊ खुलेआम बजार डुलिरहेको हुन्छ
कानून त अन्धो नै छ
तर कानून बनाउनेहरु पनि अन्धा छन् यहाँ !
कति विचित्रको छ मेरो देश
सारा जनताको आवाज छ:
'निर्मलालाई न्याय दे !'
तर उता सरकार भने
खेलिरहेको छ नारी-अपमानका
घिनलाग्दा अनेक खेल !
राम जन्मेको देश रे
यहीँ सीताको हरण हुन्छ
अनि आजकल
राम केवल रमिता हेरेर बस्छ
कति बिचित्र छ मेरो देश !