कविता -“अश्लिल आँखाको लेन्स”

हिँडदा हिँड्दै बाटोबीच हराएका हुन् मेरा पैताला
त्यतै कतै छोडिएका हुन् हत्केला र औंलाहरू
त्यतै कतै झरेका हुन् विचार र स्वतन्त्रता
त्यसपछि नै हो म भौंतारिएको
र गुमाएको
मुटु, मष्तिष्क र चेतना।

सचेतहरू भन्छन्,
चेतना छैन भने
कुनै सपना देख्न सकिन्न।

भूइँमा पोखिएको रगतको दाग हो
कि आमाको सिन्दूर ?
चिन्न सकिन्न।

देशले मान्छे बनाउँछ
कि मान्छेले देश ?
बुज्न सकिन्न।

चेतना नहुनु
जटिल र अमूर्त हुनु रहेछ
आफैले पुज्ने भगवान् जस्तै
आवाजविहीन हुनु रहेछ।

सचेतहरू भन्छन्,
आवाज छैन भने
कुनै जीवन भेट्न सकिन्न।

आवाज हराएदेखि नै
कति पटक भत्किएको हो
मेरो हृदयको बाँध
कति पटक निमोठिएको हो
संवेदनाको कोपिला
कति पटक उडेको हो
सपनाहरुको पत्र
र बनेको हो रहरहरुको चिहान ।

सुन्दर भएकै कारण
लुछिनुपर्छ यौवनको हाँगाबाट
ती फूलहरू भने

अब मलाई
ब्रह्माण्डकै कुरुप नारी बन्नुछ
र जन्माउनुछ एक कुरुप युग
जसको चित्र तिम्रो अश्लील आखाको लेन्सले
कहिलै खिच्न नसकोस् ।

✍️सुनिता खनाल
काठमाण्डौ ।