कैद माफी पाएका रिगललाई जेल चलान गर्नुपर्ने माग राख्दै प्रदर्शन

महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै प्रदर्शन गरेका छन् ।

महिला अधिकारकर्मीहरूले कैद माफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटनाले संविधानको धज्जी उडाएकाले आफूहरु प्रदर्शनमा उत्रिनु परेको बताइन् । अर्की आन्दोलनकर्मी कल्पना बस्नेतले भारतीले न्याय पाउनुपर्ने र महिलामाथि हिंसा गर्नु नहुने बताइन् ।

उनलाई कैद मिनाहा दिइएको भन्दै त्यसको विरोधमा मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनशनरत छिन् । नेपालगञ्जका चेतन मानन्धरको हत्या आरोपमा रिगल अदालतबाट दोषी ठहर भई जेल परेका थिए ।

खुँडा प्रहार गरेर व्यक्तिहत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका रिगललाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाहा गरेको थियो ।

रिगललाई रिहा गरेको बारेमा परेको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ ।