कविता -“फेरि एउटा प्रेमपत्र लेख्ने रहर छ”

म बाँचेकाे समय देखाउन मन छ
म हाँसेकाे समाज देखाउन मन छ
कला,संस्कृति र अरु थुप्रै चिजहरु
भाेलिकाे पुस्तालाई देखाउनु छ
अझ यसरी भनाै
म जन्मिएको युग बताउनु छ
याे कुनै काल्पनिक घट्ना हाेइन
साँचो इतिहास हाे भनेर,
त्यसैले
मेरी प्रियसीलाई च्याट हाेइन
फेरि एउटा प्रेमपत्र लेख्ने रहर छ ।

प्रेमपत्रले मायाकाे भाव मात्र हाेइन
हरेक मानिस बाँचेकाे समय देखाउछ
हरेक मानिस हुर्केको समाज देखाउछ
संस्कार र संस्कृति
चिन्तन र मनन
दर्शनशास्त्र र समाजशास्त्र
बृहत भाषाको शब्दभण्डार
भावना र यथार्थ
हामी बाँचेको युग
विकास र वृद्धि
सारा विगत देखाउछ
प्रेमपत्रले ।

तर अचेल
प्रविधिले प्रेमपत्रकाे अवशान गर्दैछ
कुनै भावनाविनाकाे प्रेमभन्दा
कुनै कागजी फुलकाे मायाभन्दा
उहि पुरानो युगमा फर्केर
मेरि उनीलाई
फेरि एउटा प्रेमपत्र लेख्ने रहर छ ।

हरेक मानिसमा समयसँगै
प्रेमकाे भाव उर्लेर अाउछ
तर
पुँजिवादकाे याे दुनियाँमा
प्रेम पनि बजारिया बनाएर
विभिन्न राेगकाे अाैषधि जस्तै
विभिन्न नाम गरेर विक्रिमा छ ।

पेटकाे कब्जियतदेखि
मन,मस्तिष्ककाे अाेखतीसम्म
प्रेमपत्रकाे सिर्जनामा हुन्छ,
तर
गतिशील समयले धेरै चिजकाे
अावश्यकता र महत्त्व छाेडेकाे छ
तथापि
मलाई उहि समवेदनशीलता मन पर्छ
उहि हामी बाँचेकाे समय
हाम्रा कथा,व्यथा र धुनहरु
अझै मनभित्र बरालिन्छन
विगतका ति प्रेमपत्रहरु
कति मुल्यवान थिए
हाम्रो जीवन जस्तै ।

अहिलेकाे प्रेम बिजुली जस्तो
कतै चट्याङ जस्तो पनि
बजारमा सजाइएकाे छ
मानिस जस्तै
नक्कली सुन जस्तो बनाएर
सफलताको सिढी चढ्ने माध्यम
देखिएकाे छ अाधुनिक प्रेम गर्ने शैलि,

चाहे प्रविधिले जाेडेर जावस
बजारले  बिक्रीकाे वस्तु बनावस
अाधुनिकताले संस्कार भुलाेस
नयाँ पिढिले विगत भुलुन
तर
मेरि प्रियसीलाई
म बाँचेकाे युगमा जस्तै
अाफ्नै भाषा,संस्कार र शैलिमा
फेरि एउटा प्रेमपत्र लेख्ने रहर ।।

✍️प्रेमा संगम
कालिन्चाेक - ६ दाेलखा
हाल  काठमाडौ।