खबरदार
कविता -
“खबरदार”
भान्सा घरको आलमारीमा
सजाई राखेको थिएँ धोई पखाली
केही गिलास र कटोराहरु
प्रत्येक गिलास र कटोराभित्रको
प्रतिबन्धित अँध्यारोलाई
बाहिरको सत्तासिन उज्यालोले भनिरहेथ्यो
खबरदार !
बाहिर कोही निस्कियो भने
यति खबरदार त
पृथ्वीको एक भाग जमीनलाई
तीनभाग पानीको सुनामीले पनि गरेन होला
सडकमा लडिरहेको रक्तमुछेल लासमाथि
लडिबुडी गर्दै लाम्टा चुसिरहेथ्यो एउटा भोको बालक
जसलाई यतिसम्म थाहा छैन
यो आमाको लास हो
लेख्दालेख्दै
आँखाको बाँध भत्केर बगायो
लेखिन लागेका खतरनाक मृत्युका नमुनाहरु
अब फेरि
चारो खोसिएर
आतंकित आँधीको कठोर यातनाले गुँड भत्किएर
फेरि विस्थापित हुन रहर छैन पंक्षीहरुलाई
भर्खर बिर्सेका छन् पहाडहरुले बमको आतंक
भात छ कि भनेर एउटा अनाथ भोक
ह्याल चुहाउदै बडो आसले खोल्न लागेको
लावारिस प्रेसरकुक्कर देखेर लाग्छ
फेरिपनि
भाग् , भाग् , भाग् नानी भाग्
त्यहाँ भात होइन
बारुद छ पड्किन्छ भाग्
भोलि फेरि दोहोर्याएर पढाउन नपरोस्
हामीले हाम्रा नानीहरुलाई
कुक्करमा बारुद भर्ने कला र युद्ध
भर्खर त युद्धले बनाएको घाउ पुरिएर
ऐजेरु भएपनि पलाउन थालेको छ रुखमा ।
- असीम सागर
काठमाण्डौ ।