खोटाङमा शेर्पा नृत्य स्याब्रु प्रतियोगिता हुने

खोटाङ – जिल्लामै पहिलो पटक शेर्पा नृत्य स्याब्रु प्रतियोगिता आयोजना हुने भएको छ । शेर्पा कार्यक्रम आयोजक र एसेलेखर्क गाउँपालिकको सहकार्यमा प्रतियोगीता आयोजना हुने भएको हो । खोटाङ स्थानीय सरकारको प्रायोजनमा प्रतियोगीता आयोजना गर्न लागिएको छ ।

शेर्पा जातिको भाषा, धर्म प्रति युवाहरुको चासो बढाउन प्रतियोगीताको आयोजना गर्न लागिएको शेर्पा कार्यक्रम आयोजक संस्थाका अध्यक्ष नुरु शेर्पाले बताए । खुला प्रतियोगीताका विजेतालाई तीस हजार, पच्चिस हजार र बीस हजार पुरस्कारस्वरुप प्रदान गरिनेछ ।

प्रतियोगीता अन्तरगत विभिन्न ख्याति प्राप्त कलाकारहरुको समेत प्रस्तुति रहनेछ । कार्यक्रम सफल बनाउन खोटाङको रुपाकोट मजुवागढि नगरपालिका मुडे निवासी हाल अमेरिकमा बसोबास गर्दै आएका अमेरिका शेर्पा संघका पुर्वउपाध्यक्ष मिङमा शेर्पाले सह–प्रायोजन गरेका छन् भने केपिलासगढी गाउँपालिका हिलेबन्जेङ निवासी हाल जापानमा बसोबास गर्दै आएका समाजसेवी निमा शेर्पा र सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका तातोपानी निवासी हाल काठमाडौं बसोबास गर्ने समाजसेवी चेङ्गा शेर्पाले सहयोग गरेका छन् ।

आगामी पुस ३ गते ऐसेलुखर्क १ राखावाङदेल (बाहानेपोखरी)सिप्दुमा हुने प्रतियोगीतामा ऐसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला प्रमुख अतिथीको रुपमा रहनेछन् । कार्यक्रममा निरौलाका अलवा पालिका उपाध्यक्ष पुष्पकला भूजेल, जनप्रतिनिधिहरु, समाजसेवी, विभिन्न गोन्पाका प्रमुख लामाहरुको उपस्थिती रहने आयोजकले जनाएको छ ।