
संस्मरण-
२०६४ सालको कुरा हो ,गाउँ बाट थुप्रै सपना हरुको चांग बोकेर शहर पसेको,शहरको असहज बसाई संघर्षका ति दिनहरु चाबिहिल सरस्वतीनगरमा सानो कोठा महिनाको १००० भाँडा तिरेर युबक काका संग बस्थ्यौ ।युबक पशुपती क्याम्पस पढ्थ्यो म आर.आर.क्याम्पस सधै म धोबिखोलाको तिरैतिर हिड्दै आर .आर .कलेज जान्थे,गाडी भाँडा जोगाउनको लागि,बाटोमा हिडेर कलेज जाने साथिहरु हुन्थे साबित्रा,राजेन्द्र,अनिल , कालो पाइट कालो जुत्ता सेतो धुलोले मैलो हुन्थ्यो टक्टक्याउदै पुगिन्थ्यो कलेज ,हाम्रो टिम भित्र एउटा छुटै माहोल थियो संगित सिक्ने र गजल,कविता,गीत लेख्ने हरुको । त्यही माहोल भित्र मेजर रोदुङ मिठो रसिलो गजल लेख्थे खोटाङ कै झल्को दिने गरी ,हाम्रो टिम भित्र राजेन्द्र मिठो गाउथ्यो ,अनिल लाई अलि-अली पुर्बेली गीत हरुको रस भिज्दै थियो ,भोजपुरका भबिन्द्र र खोटाङका साबित्रा ,सन्तोष लजाउदै अलि अलि गीत गाउथे ।सोलुखुम्बुको सुनिल दिप्त साह्रै मिजासिलो भर्खर गीत लेख्न सिक्दै थिए ,त्यो हुल भित्र थुप्रै साथिहरु थिए आ-आफ्नै सपना बोकेर हिडिरहेका ....। तर सबैको बाध्यता के कस्तो थियो ? कसरी बाँचिरहेका थिए शहरमा ? एउटा उद्देश्य र सुनौलो सपना बोकेर हिडिरहेका थिए सबै ,त्यही यात्रामा भेटिएका यात्री हौ हामी ।
मेरो अवस्था दशै तिहारको क्याम्पस छुट्टिमा ट्रेकिङको भारी बोक्न कहिले मनाङ,मुस्ताङ कहिले खुम्बु पुग्थे, दुई महिना कमाएको पैसाले एक बर्ष शहर बसेर पढ्नु पर्थ्यो । त्यही बेला धेरै अभाव र अफ्ठ्यारा संग खेल्न पाइयो ,यदी सपना बेच्न मिलेको भए त्यही बेला बेचिदिन्थे मान्छे लाई बाध्यताले धेरै कुरा सिकाउदो रहिछ ।हरेक साँझ चाबिहिल चोकको फुटपाथमा सस्तो तरकारी खोज्न जान्थे गाउँ घरमा घरको घुर्यानमा झरेर कुहेको स्कुस दश रुपैया धार्निमा किन्नु पर्दा मन अमिलो हुन्थ्यो ।आमाले गाउँ बाट किनिमा,गुन्द्रुक,डल्ले खुर्सानी मासको दाल पठाइदिनु हुन्थ्यो, मलाई किनिमा साह्रै मन पर्थ्यो, मेरो घरबेटी बाहुण परिवारको थियो मलाई घरबेटी आमाले बोलाउने नाम बुद्द भन्नु हुन्थ्यो कहिले गौतम भन्नु भएन खै कुन्नि किन ? एक दिन मंसिरको चिसो समय थियो बिहान खाना बनाउदै थिए ,किनिमा खान मन लाग्यो पहिलो पल्ट कोठामा किनिमा पकाउन लागेको थिए,मलाई थाहाँछ कहिलै किनिमा नखानेलाई सुगन्ध मन पर्दैन मैले जबर्जस्ती पकाए किनिमाको गन्ध घरभरि....घरबेटी आमा माथिल्लो तला बाट कराउदै आउनु भयो , ए ...बुद्द के पकाईस लौन छ्या छ्याए....गनायो , मैले हाँसेर सम्झाए आमा ! यो हाम्रो किराती समुदाय भित्र प्रचलितछ बिशेष भट्मास बाट बनाइन्छ । मेरो आमाले गाउँ बाट कोशेली पठाउनु भएको हो । यो किनिमा मा मेरो आमाको माया सन्चो बिसन्चो मिसिएकोछ । तपाई पनि चाक्नु हुन्छ ? यो गाउँको अखबारे खोर्सानी संग अलि चाख्नु त आमा ! त्यो दिन देखी घरबेटी आमा किनिमाको पारखी बन्नु भयो अनि सोधिरहनु हुन्थ्यो बुद्द ! गाउँ बाट किनिमा र ठल्ले खुर्सानी आएन .... ?
✍️गौतम सागर राई
सोलुखुम्बु ।