किरातीहरुको शक्ति र आस्थाको केन्द्र “खुवालुङ” फुटाउने ओलीको उत्घोष पछि चर्को विरोध
विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले किरातीहरुको शक्ति र आस्थाको केन्द्र रहेको “खुवालुङ” मुन्दुममा बारम्बार उच्चारण हुने सप्तकोशीको ढुंगा “खुवालुङ” क्रेन लगाएर फुटाउन लागेको बताएका थिए।
प्रधानमन्त्री ओलीले सप्तकोशीमा जेटबोट संचालन गर्न नदीको बिच भागमा रहेको ढुंगाले बाधा पुर्याएको हुनाले क्रेन लगाएर फुटाई नदीको बाटो क्लियर गर्न लागेको बताएका थिए। फागुन ८ गते नेकपा ओली समूहद्वारा विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा “खुवालुङ” फुटाएर नदीको बाटो क्लियर गर्ने बताएका हुन् ।
पहिचानसहितको संघीयता तथा जातीय पहिचानको चर्को विरोधी रहेका प्रधानमन्त्री ओलीले किरातीहरुको मुन्दुम अनुसार विशेष शक्ति र आस्थाको प्रतिक खुवालुङ फुटाउने बताए संगै किराती जन्य संघसंस्था र मुन्दुमवीदहरुले चर्को विरोध गरिरहेका छन्। तीन वर्षको बिचमा देशमा आफूले असाधारण विकास गरेको फेहरिस्त सुनाउँदै सप्तकोशीको ढुंगोले जेटबोट चलाउन बाधा पुगेकोले “खुवालुङ” फुटाएर नदीको बाटो क्लियर गर्ने बताएका हुन् ।
खुवालुङ अरुण, तमोर र दुधकोशी नदीको संगमस्थल त्रिवेणीघाटमा रहेको छ । उदयपुर, भोजपुर र धनकुटा जिल्लाको सिमानामा पर्ने “खुवालुङ” कुनै पनि हालतमा फुटाउन वा मास्न नदिने किरातजन्य संघसंस्थाका प्रतिनिधिहरुले बताएका छन् ।
किरात समुदायका अगुवाहरुले “खुवालुङ” संरक्षणका लागि अभियान चलाइरहेका समयमा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै “खुवालुङ” फुटाउन लागेको बताएका हुन् । किरातीहरुको आस्था र शक्तिको केन्द्र मानिने खुवालुङबारे प्रधानमन्त्री ओलीबाट यस किसिमको अभिव्यक्ति आउनु किरात समुदायका लागि गम्भीर विषय भएको भन्दै आपती जनाएका छन् ।