
होचा कद र विनम्र स्वभावका गायक पुर्ण राई सोलुखुम्बुको माप्य दुधकोशी २ राप्चामा जन्मेका हुन् । उनले नेपाल संगीत यात्रामा १८ बर्ष विताइसके । २०५९ साल देखि संगीत यात्रा शुरु गरेका राईले आजसम्म करिब चार सय गीत रेकर्ड गराइसके ।
भारतको इल्लाहबादबाट शास्त्रीय संगीतमा संगीत प्रभाकर सकेका उनले २०६५ सालमा ‘पहिलो भेट’ (लोक आधुनिक संग्रह) बजारमा पठाए । पहिलो एल्बमबाट सफलताको स्वाद चाखे । सोही एल्बमको शिर्ष गीतबाट प्रतिष्ठित म्यूजिक अवार्ड ईमेज अवार्डको सर्बोत्कृष्ट नव गायकको विधामा पुरस्कृत राईले त्यसयता पनि संगीतलाई निरन्तरता दिईराखे । त्यसपछि उनका ‘सपना कलेक्सन’, ‘अंकुरन’, ‘हल्का–हल्का’ (गजल संग्रह), ‘उत्तम’, ‘विममफूल’सहित करिब चार सय गीत रेकर्ड भएका छन् ।
आधुनिक, लोक गीत, गजल, भजन, फिल्मी, पप र भाषाभाषीका गीत गायनमा सक्रिय राई विभिन्न अवार्डबाट सम्मानित भएका छन् । ‘मलाई धेरैले विश्वास गरेकै कारण विविध विधामा काम गर्न पाएँ । सायद, काम दिनेहरुले पुर्णले राम्रो काम गर्छ भन्ने लाग्यो होला ।’उनले भने ।
ईमेज अवार्ड (२०६६) पाएका उनी नेशनल बक्स अफिस म्युजिक अवार्डबाट सर्वोत्कृष्ट पाश्र्व गायन २०७३ (चलचित्र : अग्नि), नेशनल पावर म्युजिक अवार्डबाट सर्वोत्कृष्ट गायक २०७६ लगायत अनगिन्ती संस्थागत, सामाजिक तथा राष्ट्रिय सम्मानहरुबाट पुरस्कृत भएका छन् । २०७६ मा ‘दी हाईएष्ट अल्टिच्यूड म्यूजिक भिडियो अन ल्याण्ड’शिर्षकमा गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर बने ।
उनीसहित चारजनाले समुन्द्री सतह देखि ४ हजार ७ सय ६८ मिटरको उचाई सोलुखुम्बुको गोक्यो क्षेत्रमा भिडियो छायांकन गरेर विश्व रेकर्ड कायम गरिएको थियो । त्यसपछि उनलाई किर्तिमानी गायकले पनि सम्बोधन गरिन्छ । पर्यटकको भरिया बोकेर सघर्षको सिँढि चढेको उनको अनुभव छ । उनले भने, ‘मैले पनि पर्यटकको भरिया बोके, कुल्ली काम गरे । सघर्ष गर्दै पर्यटक गाइड सम्म भए । गाइड लाइसेन्स अझै छ ।’
गायक राई अधिकांस नेपालको सबै शहर र जिल्लाहरुमा तथा जर्मनी, इटली, फ्रान्स, स्विजरल्याण्ड, अष्ट्रिया लगायतका मूलुकमा पुगेर सांगीतिक प्रस्तुति दिइसकेका छन् । बाल्यकालमा गायन र बाद्यबादनको पारिवारिक माहोलमा हुर्केका राई स्कुले जीवनमै जिल्लास्तरसम्म बेग्लै छवि बनाइसकेका थिए । खरिखोला माविबाट एसएलसी दिएका उनले विश्वविद्यालय तहको अध्ययनसंगै संगीतलाई निरन्तरता दिए । अहिले उनी काठमाण्डौमा एक रेकर्डिङ स्टुडियो संचालन गर्छन् । संगीत र स्टुडियो धाउनु उनको दिनचर्या नै बनेको छ ।